अध्यादेश संसदमा पेश गर्न अझै अन्योल
सत्तारुढ दलहरुले अध्यादेश निर्णयार्थ पेश गर्नु एक साताअघि सूचना दिन सभामुख देवराज घिमिरेलाई आग्रह गर्ने भएका छन्।
आज बिहान सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको सत्ता पक्षीय दलका सचेतकहरुको बैठकले उक्त निर्णय गरेको हो । कतिपय सांसदहरु उपत्यकाबाहिर रहेकाले अध्यादेश निर्णयार्थ पेशअघि नै जानकारी गराउन आग्रहसहितको परिपत्र सभामुख घिमिरेलाई गर्ने नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामप्रसाद घिमिरेले जानकारी दिए ।
राष्ट्रिय सभा र प्रतिनिधिसभामा अध्यादेश पेश गर्ने भनिएको मिति पनि पछाडि सारिएको छ । ‘कोही सांसद कुम्भ मेला जानुभएको छ, कोही उपत्यकाबाहिर र आफ्नो निर्वाचन क्षेत्रमा हुनुहुन्छ, त्यसैलाई उहाँहरुलाई छोटो समयको खबरले पुग्दैन’, घिमिरेले भने, ‘यसअघि मोटामोटी फागुन ६ गते पेश गर्ने भन्ने कुरा थियो, त्यसलाई पनि साता/दश दिनपछि लैजाने कुरा भयो ।’
बैठकले संसदीय समितिमा विचारधीन विधेयकलाई चाडो निष्कर्षमा पुर्याउन पहल गर्ने निर्णय पनि गरेको छ । त्यसनिम्ति सम्बन्धित समितिका सांसदहरुलाई आग्रह गर्ने निर्णय भएको एमाले प्रमुख सचेतक महेश बर्तौताले जानकारी दिए ।
सरकारले ल्याएका ६ वटा अध्यादेश दुवै सदनबाट विना अवरोध स्वीकृत हुने गठबन्धनको विश्वास छ । तर, राष्ट्रिय सभामा बहुमत नपुग्ने भएकाले सरकारले अहिलेसम्म निर्णयार्थ पेश गर्न सकेको छैन ।
टिप्पणीहरू