‘ओलीभन्दा देउवा धेरै इमान्दार’

‘ओलीभन्दा देउवा धेरै इमान्दार’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निकै इमान्दार रहेको टिप्पणी गर्नुभएको छ । सुर्खेतको वीरेन्द्रनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले सभापति देउवा प्रधानमन्त्री ओलीजस्तो बेइमान नरहेको ठोकुवा गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले ‘भ्रष्टाचार गर्दिनँ र गर्नेलाई पनि छोड्दिनँ भन्दै भ्रष्टाचारीलाई संरक्षण गरिरहेको’ प्रचण्डको आरोप छ । ‘उहाँ (ओली)ले यति मिठा नारा दोहोर्याउँदै आउनुभएको छ कि, तर के गर्नु, काम चाहिँ ठिक उल्टो छ’, उहाँले भन्नुभयो, ‘बरु शेरबहादुरजी इमान्दार हुनुहुन्छ, केपीजस्तो जालीझेली र बेइमानी हुनुहुन्न ।’

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले वर्तमान गठबन्धनको औचित्य पुष्टि नभए पनि भत्काउने र बनाउने खेलमा माओवादीको कुनै चासो नरहेको समेत स्पष्ट पार्नुभयो । ‘सरकारतिर हाम्रो ध्यान छैन । जति चलोस्, चलोस्, ०८४ पछिसम्म गए पनि हामीलाई टेन्सन छैन,  हामी जनतामा गएका छौँ’, उहाँले थप्नुभयो । 

अध्यक्ष प्रचण्डले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग एकताको प्रयास गरिए पनि ठोस आकार नपाइसकेको उल्लेख गर्नुभयो ।
 

टिप्पणीहरू