बैठकको कुरो एकातिर, सल्लाहकारको निर्देशन अर्कोतिर
नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको चौथो पूर्ण बैठकमा निस्किएको तस्बिर विवाद आलै छ । केन्द्रीय सचिवालयको कडा निर्देशनका बाबजुद भएको त्रुटीको मूल्य क–कसले चुकाउनुपर्ने हो ठेगान छैन । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको वृत्तले त्यस घटनालाई गम्भीर रूपमा लिएको बुझिएको छ ।
बाँकेको नेपालगञ्जमा माघ १५ र १६ गते आयोजित बैठकमा संगठन विभाग प्रमुख काशिनाथ अधिकारी र सचिव पद्मा अर्याललगायतको सहभागिता थियो । बयानर मुन्तिर सोफामा बसेका कसैको पनि ध्यान फोटोमा गएजस्तो लागेन । बैठक सकेर सबै लाखापाखा लागेपछि बल्ल अध्यक्ष ओलीको तस्बिर नभएको विवाद उधिन्न थालिएको हो । यसलाई लिएर लुम्बिनीको मुख्यमन्त्री बन्नबाट अन्तिम घडीमा बन्चित लीला गिरीसहित उपाध्यक्ष बिष्णु पौडेलनिकट प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलमाथि खतराको घण्टी बज्ने आशंका छ ।
यसबीच पार्टी अध्यक्षको तस्बिर ब्यानरमा राख्ने–नराख्ने विषयमा कुनै नीति नभएको कमिटीको दावी छ । प्रचार विभाग प्रमुख डिआर घिमिरेले अघिल्लो मापदण्डअनुसार नै बैठक सञ्चालन गरिएको बताएका छन् ।
गज्जबको कुरा के भने, उक्त स्पष्टीकरणलाई खण्डन गर्ने स्ट्याटस अझैपनि प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार तथा पार्टी उपमहासचिव विष्णु रिमालको फेसबुकमा भेटिन्छ । सन् २०२३ अगस्ट १७ मा उनले आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक कार्यक्रम व्यवस्थापनसम्बन्धी निर्णय पोष्ट गरेका थिए जसमा ओलीको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकबाट पार्टी र जनसंगठनहरूले आयोजना गर्ने कार्यक्रममा (तीन अग्रज पुष्पलाल, मनमोहन र मदन)का अतिरिक्त पार्टी अध्यक्षबाहेक अन्य फोटो प्रयोग नगर्ने निर्णय भएको भनिएको छ ।
टिप्पणीहरू