किताव खानामा शिक्षामन्त्रीको छड्के, उर्जामन्त्रीद्वारा बाँध निरीक्षण
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ताहाचलस्थित राष्ट्रिय किताबखाना कार्यालयको छड्के अनुगमन गर्नुभएको छ ।
किताबखानाका कर्मचारीले शिक्षकहरुको पेन्सनपट्टा बनाइदिने भन्दै घुस लिने गरेको गुनासो बढेपछि मन्त्रीले आज दिउँसो छड्ने अनुगमन गर्नुभएको हो । गत पुस १४ गते किताबखाना कार्यालयका शाखा अधिकृत धनेश्वर प्रसाई पेन्सपट्टा बनाउन पुगेका एक सेवाग्राहीसँग तीन लाख घुस लिदैँ गरेको अवस्थामा रंगेहात पक्राउ परेका थिए । त्यसयता त्यहाँका कर्मचारी र विचौलियाहरुले सेटिंग मिलाएर घुस लिने गरेको आरोप लाग्दै आएको छ ।
यहीबीच मन्त्री भट्टराईले कुनै पनि कर्मचारीलाई थाहा नदिइ ताहाचल पुगेको बुझिएको छ । अनुगमनका क्रममा कर्मचारीले दिनमा पेन्सपट्टाको लागि ४०/५० जना शिक्षकहरु आउने र चाप बढ्ने भएकाले प्रक्रिया लम्बिने समस्या रहेको जानकारी गराएका थिए । मन्त्री भट्टराईले भने देशका विभिन्न ठाउँबाट दु:ख गरेर पेन्सनपट्टा बनाउन कार्यालयमा आउने शिक्षकहरुसँग नम्र ढंगले पेश हुन र फाइल नअड्काउन निर्देशन दिएको बताइएको छ ।
उता उर्जामन्त्री दिपक खड्काले कास्कीस्थित रुपाताल संरक्षणका लागि निर्माणधीन परियोजनको अनुगमन गर्नुभएको छ । १२२ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त ताल संरक्षणको लागि सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले हाल बाँध लगाउने काम गरिरहेको छ । अनुगमनका क्रममा उर्जा मन्त्रीले उक्त परियोजनाकाे अनुगमन गर्दै चाँडो काम सक्न निर्देशनसमेत दिनुभयो ।
बाँध लगाउने काम सकिएपछि तालको क्षेत्रफल १८३ हेक्टर पुग्ने उहाँकाे विश्वास छ । तालको वरपर पैदलमार्ग निर्माण गर्न आवश्यक पर्ने जग्गा अधिग्रहण गर्न पनि निर्देशन दिइएको छ ।
अनुगमन टोलीमा मन्त्री खड्कासहित नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री जीवन परियार पनि सहभागी थिए ।
टिप्पणीहरू