प्रधानमन्त्री आफैं किन काम्न थालेको ?
वर्तमान सत्ता गठबन्धनसँग दुई तिहाइको बहुमत छ । तैपनि, पटकपटक प्रधानमन्त्री केपी शर्मा ओली प्रष्टीकरण दिइरहन्छन्– ‘यो सरकार पूरै अवधि टिक्छ, सत्ता परिवर्तनको हल्ला मिथ्या हो । त्यसमा कुनै दम छैन । यसरी उनले भन्नै नपर्ने, बोल्नै आवश्यक नरहेको विषयमा किन बोलिरहेका छन् ? कतै बाह्य रूपमा हेर्दा जति बलियो देखिए पनि आन्तरिक रूपमा गठबन्धन कमजोर र खोक्रो बनेको त होइन ? नत्र पूरै कर्मचारीतन्त्रलाई तरंगित पार्ने र राज्यसंस्था नै अस्थिर बनाउने उनको बोलीका पछाडिको कारण के हुन सक्छ ? अनेक प्रश्न बजारमा छन् । तर, राजनीतिक विश्लेषक भन्छन्– प्रधानमन्त्रीको बोली र उनका अभिव्यक्तिको आधारमा कुनै टिप्पणी गर्नु वा सत्ता परिवर्तनका सम्भावनामाथि घोत्लिनु व्यर्थ हुन्छ । यस्तो टिप्पणी पछाडिको कारण खोल्दै उनीहरूले भन्ने गरेका छन्– जबसम्म शेरबहादुर देउवाले चाहँदैनन्, तबसम्म कसैले प्रार्थना गरेको वा जोडबल लगाएको भरमा अहिलेको ओली सरकार अल्पमतमा पर्दैन । कुरा के पनि प्रष्ट हुँदै गएको छ भने देउवा अहिले नै ओली सरकार फेरेर नयाँ गठबन्धन बनाउने मुडमा छैनन् ।
नेपालमा विदेशी शक्तिको चलखेललाई समेत सहज आकलन गर्दै आएका एक राजनीतिक विश्लेषकका अनुसार अहिले भारत नेपालमा सत्ता परिवर्तन गराउने खेलमा छैन । उसले के राम्ररी बुझेको देखिन्छ भने व्यर्थको शक्ति खर्च गरेर असफल प्रयत्न गर्नु आवश्यक छैन । उनीहरू नेपालमा प्रधानमन्त्रीको कुर्सीबाट केपी ओलीलाई हटाएर प्रचण्ड वा शेरबहादुरलाई राख्नुको कुनै तात्विक फरक नहुनेमा प्रष्ट छन् । त्यति मात्र होइन, भारतले रुचाएका नयाँ प्रधानमन्त्रीको रूपमा हेर्दै गरिएका सर्वाधिक सम्भावनायुक्त पात्र शेखर कोइरालाले अहिले नै प्रधानमन्त्री बन्न सक्ने गरी आफूलाई राजनीतिको केन्द्रमा उभ्याउन सक्ने सम्भावनालाई पनि नकार्दै आएको स्थिति छ । जबसम्म अनुकूलको राम्रो व्यक्ति फेला पर्दैन त्यो मितिसम्म भारत र अन्य विदेशी शक्ति नेपालमा सत्ता परिवर्तनको खेलमा नलाग्ने निश्कर्षमा पुगेको बताइन्छ ।
यता, केपी ओली पनि अहिले नै नेपाली कांग्रेसलाई चिढ्याएर कुनै काम नगर्ने मनस्थितिमा रहेको देखिन्छ । कांग्रेसले अघि सारेका सबै प्रस्तावलाई बिना कुनै विलम्ब स्वीकृत गर्ने र देउवा मात्र होइन गगन थापा अनि विश्वप्रकाश शर्मासम्मलाई पनि खुशी राख्ने प्रयत्नमा ओली लागि परेका छन् । शक्तिराष्ट्रको कुनै पनि प्रयत्नले ‘भ्यागुताको धार्नी’ नपुग्ने देखेपछि भारतले विगतमा च्याप्दै आएका मधेशी दललाई समेत बेवास्ता गरिरहेको देखिन्छ । यस्तो स्थितिमा प्रधानमन्त्रीले सत्ता परिवर्तनको चर्चा गर्नु उनको बेला–कुबेला जथाभावी बोलिरहने आदतको प्रतिविम्बबाहेक अन्य कुरा नरहेको निश्कर्षमा राजनीतिक विश्लेषण केन्द्रित रहेको देखिन्छ । त्यसपछि अर्को पनि एउटा रमाइलो कारण छ । त्यो हो, प्रचण्डलाई सत्ता ढालेर देखाऊ भनी जिस्क्याउने, चुनौती दिने । प्रचण्डले ‘यो सरकारको आयु धेरै छैन’ भन्दै भाषण गरेकोमा त्यसको जवाफ मात्रै उनले दिएको बताइन्छ ।
त्यसो त एउटा कुराचाहिँ के सत्य हो भने अहिले मुलुकभर केपी ओलीविरोधी माहोल विकास हुँदै गइरहेको छ । हालै एउटा सरकारी कामको सिलसिलामा मेची–महाकालीको लगभग ७७ वटै जिल्ला घुमेर फर्केका एक अध्येताका अनुसार गाउँमा सर्वसाधारणदेखि महिला र पिछडिएको समुदायका मानिसले समेत केपी ओलीको खेदो खनेको सुनिन्छ । जसबाट कतै केपी ओलीले आफैसँग एमालेलाई नै डुबाउने त होइनन् भन्ने चिन्तासमेत एमाले गणभित्र थपिएको छ । यसमा अचम्मलाग्दो कुरा त के पनि छ भने प्रचण्ड, बाबुराम, देउवा वरिपरी सत्ता घुमिरहेको र नयाँ समेत पत्रु सावित हुँदै गएकाले गर्दा जनतामा राजनीतिप्रति चासो घट्दो छ । यसरी केपी ओलीविरोधी माहोल बन्नुमा उनको अनावश्यक ट्याउँ ट्याउँ र बेला न कुबेलाका क्षुद्रवचन जिम्मेवार रहेको बताइन्छ । यसरी केपी ओली र एमालेविरोधी लहर सिर्जना भएको तथ्य फेला परेपछि अघिल्लो वर्ष पनि मध्यपहाडी मार्ग हुँदै पूर्वदेखि पश्चिमसम्म यात्रा गराइएको थियो । त्यसले एमालेलाई थोरै जागृत गरायो र ओलीविरोधी माहोल केही मत्थर त भयो । तर जसै उनी अहिले प्रधानमन्त्री बने फेरि त्यो नकारात्मकता बढ्दै गएको प्रष्ट छ ।
त्यसो त एमालेको दोस्रा तहका र अबको कार्यभार काँधमा लिनुपर्ने अवस्थामा पुगेका नेताहरु समेत यो अवस्थाबारे जानकार छन् । तर, विडम्बना– त्यहाँभित्र कुनै एक जना पनि त्यस्तो व्यक्ति बाँकी छैन– जसले यो सत्य जस्ताको तस्तै केपी ओलीसामु राख्न सकोस् । केपी स्वयंलाई मेराविरुद्ध यसरी जनमत विकसित भइरहेको छ भन्ने कुराको कुनै हेक्का नै छैन । यसकारण एमाले विस्तारै ओलीकै कारण कमजोर बन्दै गएको हेर्नुको विकल्प शुभचिन्तकसँग समेत बाँकी नरहेको स्थिति छ ।
ओलीलाई यस अवस्थाबारे तपाईंंहरूले किन जानकारी नदिनुभएको भन्ने जनआस्थाको प्रश्नमा एमाले सचिवालयका एक प्रभावशाली सदस्यले भने, ‘हामीले भन्ने र उहाँले सुन्ने स्थिति नै बन्दैन । हामी केही कुरा लिएर जान्छौं– उहाँले दुई वाक्य सुनिसकेपछि रोक्नुहुन्छ र धारावाहिक प्रवचन सुनाउन थाल्नुहुन्छ । स्वयं एमाले नेताहरूको यस्तो टिप्पणी छ भने जनसाधारणले कसरी लिँदा हुन् आफैँ अनुमान गर्न सकिन्छ ।
टिप्पणीहरू