क्रान्तिकारीका विजेतालाई खुमलटारमा खादा

क्रान्तिकारीका विजेतालाई खुमलटारमा खादा

नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल (क्रान्तिकारी) को नवनिर्वाचित केन्द्रीय कमिटीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट बधाई पाएको छ । 

अध्यक्ष विजयप्रकाश सापकोटा, महासचिव रोशन थापा मगरसहित हिजो निर्वाचित पदाधिकारीलाई आज दिउँसाे आफ्नै निवास खुमलटार बोलाएर प्रचण्डले बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको हो । त्यसक्रममा उहाँले क्रान्तिकारीमा ३२ वर्षे उमेर हदको नीतिगत कार्यान्वयनले नेपाली राजनीतिमा नयाँ सन्देश दिएको बताउनुभयो । 

‘उमेर हद लागू गरेर जुन निर्वाचन सम्पन्न भयो, त्यसले सबै दललाई नयाँ सन्देश दिएको छ’, उहाँले शुभकामना दिँदै भन्नुभयो, ‘अब माओवादीको भविष्य भनेको तपाईहरु नै हो, हाम्रो विश्रामपछि पार्टीलाई गाइड गर्ने तपाईंहरुले नै हो, त्यसैले तपाई सबै नेतृत्वको हकदार हुनुहुन्छ ।’

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले शुरुमा अपरिपक्व नेतृत्व चयन हुने हो कि भन्ने शंका लागे पनि अहिले पूर्ण विश्वस्त रहेकोसमेत बताउनुभयो । ‘शुरुमा कतै अपरिपक्व र  फुच्चाफुच्ची आउने हुन् कि भन्ने शंका पनि थियो, तर तपाईंहरुसँग भेटेपछि त्यो शंका मेटिएको छ, तपाईंहरुको परिचय थाहा पाएपछि संगठनले राम्रो मान्छे पाएको रहेछ भन्नेमा ढुक्क भएँ’, उहाँले थप्नुभयो । 

त्यस्तै, अध्यक्ष प्रचण्डले निर्वाचनमा पराजित भएका विद्यार्थी नेतालाई निरुत्साहित नहुन पनि आग्रह गर्नुभएको छ । जसले हारे पनि वा जिते पनि समग्रमा पार्टीकाे जित भएकाे उल्लेख गर्दै, ‘यो समूह, त्यो समूह भनेर बाहिर जति हल्ला फैलाइएका छन्, त्यो राम्रो होइन । ती भाष्यहरुलाई तपाईंहरुले चिर्नुहोला । जो जसले जितेर आए पनि माओवादीले जितेर आएको हो ।’

प्रचण्डले ठोस एजेण्डा बनाएर अघि बढेमा राम्रो परिणाम आउने बताउँदै स्ववियु निर्वाचनको तयारीमा जुट्न पनि निर्देशन दिनुभएको छ । ‘स्ववियुलाई केन्द्रमा राखेर अघि बढ्नुहोस् । पत्रकार महासंघ र स्थानीय तहमा एकताबद्ध हुँदा केहि आशा लाग्दो नतिजा देखियो, स्ववियु चुनावमा पनि राम्रो नतिजा ल्याउनेगरी काम गर्नुहोला’, उहाँले भन्नुभयाे ।

टिप्पणीहरू