सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता लिनू : रास्वपा

सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता लिनू : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अभिव्यक्ति स्वतन्त्रता र वाक स्वतन्त्रता विरोधी कानुन स्वीकार नगर्ने स्पष्ट पारेको छ । 

सरकारले राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जालसम्बन्धी विधेयकको प्रावधानलाई लिएर पक्ष–विपक्षमा बहस भइरहँदा रास्वपाको यस्तो प्रतिक्रिया आएको हो । यसबारे धारणा सार्वजनिक गर्दै कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले विधेयक अबिलम्ब फिर्ता लिन माग गरे । 

विधेयकका प्रावधानहरुले स्पष्ट रुपमा वाक तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने, आलोचनात्मक अभिव्यक्तिलाई दण्डित बनाउने र नागरिक अधिकारमाथि नियन्त्रण गर्ने अलोकतान्त्रिक अभिष्ट प्रकट भएको रास्वपाको भनाई छ । ‘संसदीय व्यवस्थामा संख्यात्मक बहुमतको आडमा नागरिक स्वतन्त्रता संकुचित पार्ने खालका विधेयक पारित गर्न खोज्नु लोकतन्त्रकै भद्दा मजाक हो’, बुर्लाकोटीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

अध्यादेशका गलत बाछिटाहरूले राजनीतिलाई दूषित बनाइरहेको र सोही सेरोफेरोमा सामाजिक सञ्जालसम्बन्धी विधेयक दर्ता गरिएको भन्दै उसले नियतमा पनि प्रश्न गरेको छ । ‘अध्यादेशका गलत बाछिटाहरूले नेपाली राजनीतिलाई दूषित बनाउँदै गर्दा त्यसकै सेरोफेरोमा आएको यो विधेयक पछाडिको नियत सही देखिँदैन’, विज्ञप्तिमा भनिएको छ ।

नागरिक अधिकारमाथि अंकुश लगाउने नियतले यस्ता कानुनी प्रावधान ल्याउने र संख्याको बलमा पारित गर्ने कदमलाई लोकतन्त्रको दुरुपयोगको रुपमा व्याख्या गर्ने रास्वपाले प्रष्ट पारेको छ । उसले विधेयक पुनर्लेखन गर्नसमेत सरकारलाई भनेको छ ।

टिप्पणीहरू