एमाले कार्यकर्ता किन दह्राे जवाफ दिन्नन्

ओलीलाई यता पनि तनाव, उता पनि तनाव

एमाले कार्यकर्ता किन दह्राे जवाफ दिन्नन्

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमण्डलबाट अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावबिनै निर्विरोध केन्द्रीय सदस्य भएकी उषाकिरण तिमल्सिना नेतृत्वबारे निरन्तर मुखर भइरहन्छिन् । उनका भनाइकै कारण पार्टीका कुरा सार्वजनिक मञ्चमा लगेको भन्दै स्पष्टीकरण पनि सोधिएको छ । 

गत शनिबार मात्रै एउटा सञ्चारमाध्यमले गरेको सार्वजनिक कार्यक्रममा उनले अहिलेको नेतृत्व र अध्यक्ष ओलीबारे घतलाग्दो टिप्पणी गरिन् । माधव नेपालसहितले दुई लाइन संघर्ष चलाउँदा सडकमै भिड्नसमेत तयार उनले अध्यक्ष कमरेडले भनेपछि सबै कुरा चल्छ भन्नु नै एमालेभित्रको प्रमुख समस्या रहेको ब्याख्या गरिन् । ‘एमालेमा अन्तरपार्टी लोकतन्त्र कमजोर भइरहेको छ । चिसो भनेकै कोकाकोला भनेजस्तै नेता भनेका केही नेता हुन् । र, ती नेताका पनि नेता भनेका कमरेड अध्यक्ष हुन् भनिन्छ । अध्यक्षले भनेपछि सबै कुरा हुन्छ र चल्छ भन्ने ठान्नु नै आजको प्रमुख समस्या हो’, उनले यसरी समस्याको सटिक टिप्पणी गरिन् । उषाको नजरमा एमालेको खम्बा रहेका कार्यकर्तालाई काम र भूमिका नदिनु अर्को समस्या हो । असोज २५ गते ओलीले कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरस्थित व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गामा पार्टीको केन्द्रीय कार्यालय भवन शिलान्यास गरेपछि विरोधमा उत्रिनेमध्ये एक उनै उषाकिरण पनि हुन् । कात्तिक २ गते एमालेले पूर्वउपाध्यक्ष डा. भीम रावल र नेतृ विन्दा पाण्डेलाई पनि स्पष्टीकरण सोध्यो । 

तर, कात्तिक १२ गते सर्वोच्च अदालतका न्यायाधीश सुनीलकुमार पोखरेलले जग्गा दान लिई हक हस्तान्तरणलगायत काम कारबाहीविरुद्ध अल्पकालीन अन्तरिम आदेश दिएसँगै उनीहरूमाथिको कारबाही टर्‍यो । उक्त अल्पकालीन अन्तरिम आदेशपछि एकातिर एमालेको पार्टी कार्यालय निर्माण रोकियो भने तीन नेतामाथिको कारबाही पनि अघि बढ्न पाएन ।

यद्यपि अस्ति सोमबार सर्वोच्च अदालतले दाने जग्गाविरुद्ध परेको रिट नै खारेज गरिदिएर मीनबहादुर गुरुङको कोशेली खाने बाटो खोलिदिएको छ । गुरूङसँग दान लिएर केन्द्रीय कार्यालय बनाउनुलाई साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने कदम भनेकी विन्दा र उनलाई साथ दिने उषा दुवै अहिले पनि बोल्न छाडेका छैनन् । उषाले शनिवार अध्यक्ष ओलीबारे तिखो टिप्पणी गर्दै गर्दा भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सले एकजना पूर्वजासुससँग लिएको अन्तर्वार्ता नेपालमा भाइरल भइरहेको छ । ‘रअ’का पूर्वएजेन्ट भनी चिनिने विवादित पृष्ठभूमिका लक्ष्मण सिंह (लक्की विष्ट) सँगको उक्त अन्तर्वार्ताले नेपालमा चर्चा पाएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सुरक्षा गार्ड रहिसकेका भनिएका यी पूर्वजासुसले ओली नेतृत्वको सरकार केही दिनमै ढल्ने दाबी गर्न भ्याएका थिए । अन्तर्वार्तामा उनले नेपालमा सरकार परिवर्तन हुने सनसनीपूर्ण दाबी गरेका छन् । 

‘आज १२ तारिख हो । अचम्म लाग्ला, तपाईंंले केही दिन (१०–१५) पछि एउटा अर्को समाचार सुन्नुहुन्छ, नेपालको सरकार ढल्नेवाला छ, ’ उनले भनेका छन् । यी कुरा संयोग मात्रै होइनन् । गत शनिबार चितवन पुगेका गृहमन्त्री रमेश लेखकले आर्थिक गतिविधि चलायमान नभएको, सुशासन नभएको, विकास निर्माण अघि नबढेकोसहितका कारण देखाउँदै यी सबै कुराका लागि वर्तमान गठबन्धन बनेको बताए । तर दुईतिहाइ नजिकको सरकार ढल्नेबारे उनले त्यहाँ पनि रक्षात्मक भएर बोल्नुपर्‍यो । वर्तमान गठबन्धनबारे विभिन्न हल्ला फैलाउने कोसिस भएको भन्दै उनले ०८४ सालसम्मै जाने जिकिर गरेका छन् । अर्थात्, लेखकले पनि घुमाउरो भाषामा अहिले सरकार तलमाथि नहुने, नढल्ने विश्वास पत्रकारलाई दिनु परेको अवस्था छ । 

टिप्पणीहरू