प्रधानमन्त्रीसँग भारत भ्रमणको उपलब्धि सुनाउन माग

प्रधानमन्त्रीसँग भारत भ्रमणको उपलब्धि सुनाउन माग

सत्ता साझेदार दल नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे संसदमा जानकारी गराउन रुलिङको माग गरेका छन् । 

आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भारत भ्रमणका क्रममा भएका विषयको संसदलाई जानकारी गराउन प्रधानमन्त्रीलाई सभामुखले रुलिङ गर्नुपर्ने बताए । संसदको विशेषाधिकार भएकाले प्रधानमन्त्रीलाई संसदमा जानकारी गराउन सभामुख आफैंले अग्रसरता लिनुपर्ने पन्तको भनाई छ । 

त्यसक्रममा उनले १९५० को सन्धि, इपिजी प्रतिवेदन, सीमा समस्या, सार्क जस्ता विषयमा दुई देशका प्रधानमन्त्रीबीच के कुराकानी भए भन्नेबारे संसदले जान्न चाहेको बताए । नेपाल-भारत समस्या अहिले पनि ज्युँकात्युँ रहेपनि प्रधानमन्त्री प्रचण्डले कुनै समस्या नभए जसरी अभिव्यक्ति दिएको भन्दै सांसद पन्तले आपत्ति पनि जनाए । 

यस्तो छ उनको भनाई :

सार्क लथालिंग भयो । सार्क मात्रै होइन, सार्क युनिभर्सिटी, जो दिल्लीमा छ । त्यसको पनि सार्कको समयमा बैठक नबसेको कारण त्यसमा विभिन्न देशहरुले बजेट दिनुपर्नेमा त्यो समयमा नआएको कारणले योसमेत लथालिंग हुने अवस्थामा पुगेको छ । सार्कको अध्यक्ष भएको नेपालले यो विषयमा इनिसिएशन लिनुपर्छ कि पर्दैन ? यो विषयमा आफ्नो धारणा प्रष्ट राख्नुपर्छ कि पर्दैन ? सार्कको सचिवालय काठमाडौंमा छ । नेपालमा छ । त्यसैले यदि भारत र पाकिस्तानको विवादले पाकिस्तानमा सम्मेलन हुन सक्दैन भने भोली श्रीलंका र अन्य कुनै देशमा पर्यो भने हुन सक्दैन भने नेपालले अघि बढेर भन्नु पर्छ–सार्कको गतिविधिलाई रोक्न सकिदैन । त्यसको विवाद कुनै देशसँग भएमा हामी काठमाडौंमा सम्मेलन गर्छौं । यो अधिकार चाहियो भनेर भन्नु पर्छ । 

भर्खरै प्रधानमन्त्री दिल्ली गएर आउनु भयो । मोदीजीको तेस्रो पटकको सपथग्रहण कार्यक्रम गएर उहाँ आउनुभयो । एयरपोर्टमा आएर उहाँले सबै विषयमा कुरा भएको कुरा गर्नुभयो । हाम्रो सम्बन्ध मित्रतापूर्ण ढंगले अघि बढिराखेको छ भन्नुभयो । योभन्दा अगाडि पनि त्यसै भन्नुहुन्थ्यो, त्योभन्दा अगाडि अर्को प्रधानमन्त्रीले पनि त्यसै भन्नुहुन्थ्यो । 

तर, सीमाको समस्या त्यत्तिकै छ । हाम्रो इपिजीको प्रतिवेदन त्यत्तिकै छ । १९५० को सन्धि त्यत्तिकै छ । भारतसँग थाति रहेका हाम्रा समस्याहरु जस्ताको तस्तै विद्यमान छन् । त्यसैले सभामुखज्यूबाट आज रुलिङ हुनुपर्छ–प्रधानमन्त्रीले बोलेर आएपछि बोल्ने पहिलो ठाउँ भनेको संसद हो । उहाँको भारतीय प्रधानमन्त्रीसँग के-के विषयमा दुईपक्षीय हितका, बहुपक्षीय हितका, सार्कका विषयमा, नेपाल र भारतका बीचमा बाँकि रहेका विभिन्न समस्याहरुलाई समाधान गर्ने विषयमा सम्मानीय प्रधानमन्त्रीजीको भारतीय प्रधानमन्त्रीसँग के-के विषयमा कुराकानी भयो ? उहाँले यो संसदलाई सम्मान गर्ने हो भने आजै आएर यो संसदमा आफ्नो भारत भ्रमणबारे, त्यहाँ भएको कुराकानीबारे विस्तृत रुपमा जानकारी दिनुपर्दथ्यो ।

त्यसकारण म सभामुखज्युको ध्यानाकर्षण गर्दछु–रुलिङहोस प्रधानमन्त्रीज्यूलाई । भारत भ्रमणको हाम्रो र भारतबीचको विद्यमान समस्या समाधानको विषयमा के कुरा ठोस रुपमा भए, त्यसबारे यो संसदले जानकारी पाओस । संसदको विशेषाधिकार हो सभामुखज्यू यो । सभामुखज्यूले पनि यसमा आँखा चिम्लिन मिल्दैन । ’

टिप्पणीहरू