प्रशासकीय अधिकृतको कार्यकक्षबाहिर पत्रकारको धर्ना

प्रशासकीय अधिकृतको कार्यकक्षबाहिर पत्रकारको धर्ना
सुन्नुहोस्

काठमाडौं महानगर प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका पत्रकारलाई न्यायको माग गर्दै श्रमजीवी पत्रकार संघ, नेपाल धर्नामा बस्ने भएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको कार्यकक्षबाहिर दिँउसो २ बजेदेखि धर्ना दिन लागिएको हो ।

सहमति भएको डेढ महिना बितिसक्दासमेत पत्रकार पदमप्रसाद पोखरेललाई न्याय नदिएकाले धर्ना कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष जन्मदेव जैसीले बताए । परियारको कार्यकक्षबाहिर आज एक घण्टा धर्ना दिइने उनले जानकारी दिए । उनका अनुसार महानगरले पीडितको मोबाइलबाहेक अन्य कुनै सामान फिर्ता नदिएको र उपचार खर्च पनि नब्यहोरेको हो । 

‘महानगरको ज्यादतीविरुद्ध हामीले रिले अनशन शुरु गरिसकेपछि प्रमुख प्रशासकीय अधिकृत परियारको रोहबरमा सहमति भयो । उपचार खर्च व्यहोर्ने, जफत गरिएको सामान फिर्ता गर्नेलगायतका प्रतिबद्धता जनाएपछि हामीले आन्दोलन फिर्ता लियौ । सहमति भएको दिन मोबाइल फिर्ता दिइयो, त्यसबाहेक पीडितले कुनै किसिमको राहत पाउनुभएको छैन् । हाम्रो आन्दोलन तुहाउनका लागि मात्र सहमति गरेकोजस्तो भयो’, उनले भने । 

गत फागुन १६ गते सुन्धारामा भएको महानगर प्रहरी र व्यवसायीबीच झडपको रिपोर्टिङ्ग गर्न पुगेका प्राणमञ्च मासिक तथा डटकमका प्रधानसम्पादक पोखरेलमाथि आक्रमण भएको थियो । महानगर प्रहरीले उनलाई मरणासन्न हुनेगरी पिटेको थियो । कुटपिटबाट गम्भीर घाइते भएका उनले न्याय र क्षतिपूर्तिका लागि महानगरमा निवेदन दिए । 

महानगरका प्रमुख प्रशासकीय अधिकृत परियारको ध्यानाकर्षण गराइएको निवेदनप्रति बेवास्ता गरिएपछि संघको अगुवाईमा फागुन २९ गतेदेखि राष्ट्रिय सभागृह अगाडि रिले अनशन थालियो । गत चैत ४ गते परियारले आन्दोलित पत्रकारलाई बोलाएर घटनाबारे छानबिन गर्ने, जफत गरिएको सामान फिर्ता गर्ने, उपचार खर्च व्यहोर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित भएको थियो ।

टिप्पणीहरू