धादिङबेसी बजारको फोहोर च्याडुघुम्तीमा फाल्न रोक लगाइने

धादिङबेसी बजारको फोहोर च्याडुघुम्तीमा फाल्न रोक लगाइने धादिङको नीलकण्ठ नगरपालिका–८ को ससाह ज्यामिरे सामुदायिक वन क्षेत्रको च्याडुघुम्तीमा रहेको डम्पिङ साइडमा व्यवस्थित गर्न माग गर्दै नगरपालिकालाई ध्यानाकर्षणपत्र बुझाउँदै प्रभावित क्षेत्रका बासिन्दाहरु ।
सुन्नुहोस्

-शंकर श्रेष्ठ 

धादिङको नीलकण्ठ नगरपालिका–८ च्याडुघुम्तीको डम्पिङ साइड प्रभावित क्षेत्रका बासिन्दाले च्याडुघुम्तीमा फोहोर फाल्न रोक लगाउने भएका छन् । 

वर्षाैदेखि अव्यवस्थित ढंगबाट फोहोर फालिँदै आएको डम्पिङ साइट व्यवस्थित नगर्दा गाउँसम्म दुर्गन्ध फैलिएकोले प्रभावित क्षेत्रका बासिन्दाले फोहोर फाल्न रोक लगाउन लागेका हुन् । स्थानीय ससाह ज्यामिरे सामुदायिक वन उपभोक्ता समूहको नेतृत्वमा नीलकण्ठ नगरपालिकालाई सात दिने अल्टमेटमसहितको ध्यानाकर्षणपत्र बुझाउँदै च्याडुघुम्तीमा फोहोर फाल्न नदिने र वैकल्पिक स्थान खोज्न आग्रह गरेका छन् । 

च्याडुघुम्तीको डम्पिङसाइडमा सदरमुकाम धादिङबेसीबाट निस्कने फोहोर २० वर्ष भन्दा अगाडिदेखि फलिदै आएको छ । दैनिक तीन गाडी भन्दा धेरै फोहोर फालिदै आएपनि व्यवस्थित गर्न नसक्दा अत्याधिक दुर्गन्ध फैलिएको छ । जथाभावी फालिदै आएको फोहोरले घरपालुवा वस्तुभाउ चराउन र वन क्षेत्रमा घाँसदाउरा गर्न जान समेत नसकिने अवस्था आएको वन समूहका अध्यक्ष रामकुमार पौडेलले बताउनुभयो । 

धादिङको नीलकण्ठ नगरपालिका–८ को ससाह ज्यामिरे सामुदायिक वन क्षेत्रको च्याडुघुम्तीमा फालिएको फोहोरको डंगुर । 

‘च्याडुघुम्तीमा विगत २० वर्षदेखि धादिङबेसी बजारको फोहोर फाल्दै आएको र त्यस ठाउँमा हालसम्म व्यवस्थित नबनाई फालिएको फोहोरले कालुपाण्डे मार्गमा यात्रा गर्ने यात्रुले समेत दुर्गन्ध सहन बाध्य छन् । ‘ससाह ज्यामिरे आसपासबाट मात्रै होइन ढोला, मैदी नलाङ क्षेत्रबाट समेत मानिसको मृत्युपछि अन्तिम दाहसंस्कारका लागि शव लाने बाटो त्यहि छ । फोहोरको ढंगुरमाथी फुटेका सिसा, प्लाष्टिकका कचेरा र सडेका फोहोरमाथी टेक्दै शव बोक्नुपर्ने बाध्यता छ’, पौडेलले भन्नुभयो–‘अब यहाँका नागरिकले यो सब सहेर बस्न सक्दैन ।’ 

डम्पिङसाइट प्रभावित क्षेत्रका स्थानीयले बुधबार नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्यकर्मालाई बुझाएको ध्यानाकर्षण पत्रमा नागरिकको जिउधनको रक्षाका लागि फोहोर फाल्न रोक लगाइने उल्लेख गरिएको छ । ‘निरन्तर फालिएको फोहोरले वन पैदावर पनि नास हुँदै गएको छ भने नागरिकको स्वास्थ्यमा पनि प्रतिकुल असर परेको हुँदा यथाशिघ्र फोहोर फाल्न बन्द गरी फालिसकेको फोहोरबाट निस्कने सम्भावित दुर्गन्ध समेत व्यवस्थापन गरिदिन जोडदार माग गर्दछौं । आश्वासनकै भरमा आलटाल गरि नगरपालिकाले प्रभावित क्षेत्रका नागरिकको गुनासो सुनुवाईतर्फ ध्यान नदिएको हाम्रो स्पष्ट बुझाई छ’, ध्यानाकर्षणपत्रमा उल्लेख छ । 

अव्यवस्थित ढंगबाट थुपारिएको फोहोरले मानव स्वास्थ्यमा प्रतिकूल असर परेको तथा राज्यशक्तिको दुरुपयोग गरी स्वच्छ वातावरण बाँच्न पाउने नागरिकको मौलिक हक सरकारले नै हनन् गरेको स्थानीयको आरोप छ । 

धादिङबेसी बजार क्षेत्रको फोहोर वर्गिकरण गरि व्यवस्थित गर्न माग गर्दै नीलकण्ठ नगरपालिका -८ को वडा कार्यालयले गत असार १३ गते नै प्रभावित क्षेत्रका बासिन्दाहरुमा परेको नकारात्मक असरलाई ध्यान दिई वडा कार्यालयले फोहोर व्यवस्थापनमा नगरपालिका र सम्बन्धित वडाहरुलाई साथ दिन नसकिने निर्णय गरेको थियो । विना योजनाको व्यवस्थापनले सदरमुकाम धादिङबेसी प्रवेश गर्ने मुख्य नाकामा फोहोरले दुर्गन्ध फैलाएको र नजिकका वस्तीहरुमा सरुवा रोगको समस्या बडिरहेकोले २०८० साउन १ गतेबाट सम्बन्धित टोल/वडाको फोहोर आफ्नै स्थानमा व्यवस्थापन गर्न माग गरेको थियो ।  

 

टिप्पणीहरू