भरत जंगम निकिताको कारोबारबारे के भन्छन् ?

भरत जंगम निकिताको कारोबारबारे के भन्छन् ?
सुन्नुहोस्

काठमाडौं महानगरपालिकाको सहकारी विभागले गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल उपाध्यक्ष रहेको राजधानीको सत्य साई सहकारीमा छापा मार्यो । यसपछि फेरि रवि जोडिएको अर्को काण्ड बाहिरियो भन्दै विभिन्न सञ्चार माध्यममा समाचार आए । र, केही मिडियाका विरुद्ध अदालतमा मानहानी मुद्दा दायर गरिएको छ । 

निकिता उपाध्यक्ष हुँदा आफैंले त्यहाँबाट ५० लाख रुपैयाँ ऋण लिइन् । सामान्यतया सहकारीले त्यत्तिका रकम कसैलाई पनि बिनाधितो दिनु, त्यसमाथि पदाधिकारीले अन्य निक्षेपकर्ता÷सदस्यलाई दिनुपर्ने ऋण सञ्चालक समितिकै पदाधिकारीले चलाउनुलाई उचित मानिँदैन । 

तर, त्यसबेला निकिताको अवस्था फरक थियो । उनी पूर्वपति अभीलाई छोडेर नयाँ पति रविसँग विवाह गर्न ठिक्क परेकी थिइन्, तर चाहिनेजति पैसा थिएन । यो दुःख बुझेपछि उक्त सहकारीका त्यतिबेलाका अध्यक्ष तथा भ्रष्टाचारविरोधी अभियान चलाएर देशव्यापी चर्चामा आएका भरत जंगमले बोलाए । सदस्य नभई सहकारीबाट पैसा लिन नपाइने नियम सुनाए । तर, निकिताले उपाध्यक्ष नै हुन्छु भनिन् । 

त्यसरी संस्थाको उपाध्यक्ष हुनेबित्तिकै उनले त्यहाँबाट ५० लाख रुपैयाँ लगिन् । दुई वर्षपछि, अर्थात् गत वर्ष समानुपातिक सांसद बनाइएका डा.ढाकाकुमार श्रेष्ठमार्फत् साँवा–ब्याजसहित करिब ७५ लाख सहकारीलाई नै फिर्ता गरिन् । यो कारोबारकै कारण निकिताले रविसँग विवाह गरिन्, पैसा तिर्ने बेलामा सहयोग गरेवापत ढाकाकुमार सांसद भए । तर, बदनामीचाहिँ ऋण दिने भरत जंगमको थाप्लोमा परेको छ । उनले भन्ने गरेका छन्, ‘पैसा पाउने, सांसद हुने र पति पाउने उनीहरू, दुःख पाउने म !’ 

अनि, निकिता उपाध्यक्ष रहेको सहकारीमा महानगरले छापा मारेकै दिन हत्तपत्त रवि लामिछानेले मेयर बालेन्द्र साहलाई सिंहदरबारमा बोलाए । महानगरको सहकारी विभागका बलराम त्रिपाठी, सुशील सुवेदीहरूले उक्त सहकारीमा छापा मार्नुअघि बालेनलाई केही पनि सोधेका थिएनन् । तर, त्यही दिन दिउँसो २ देखि ३ बजेसम्म रवि र बालेनको भेट भयो । निकिताले भनेकी छन्, ‘सहकारीबाट ०७७ सालमै मैले राजीनामा दिएको हो ।’ तर, उनको राजीनामा भने २०८० सालमा बल्ल स्वीकृत भएको छ ।’

उक्त सहकारीमा अध्यक्ष भरत जंगमकै ८० लाख रुपैयाँ फसेको छ । पैसा फिर्ता लिन आउनेलाई दिनैपर्छ । त्यही सहकारीको दुई करोड २२ लाख हिनामिनामा रामहरि अधिकारी र सचिव जनक गौतम, शंकर उपाध्यायलाई मुद्दा चलाइएको छ । 

हो, निकिताले सत्य साई सहकारीबाट ५० लाख लिइन् । ब्याजसहित फिर्ता गरिन् । तर, उनी उक्त सहकारीमा उपाध्यक्ष त भएकै हुन् । उनी उपाध्यक्ष भएको बेला उक्त सहकारीले गरेका बदमासीको जिम्मेवार हुनुपर्ने कि नपर्ने भनेर प्रश्न उठाउने पत्रकारलाई मुद्दा हालेर के उन्मुक्ति पाउलिन् ? 

निकिता २०७६ देखि ०७९ सालसम्म उक्त सहकारीमा देखिन्छिन् । काठमाडौं महानगरपालिकाले पीडितको उजुरीको आधारमा छापा मार्ने काम गरेकै हो । अनि त्यही समाचार लेख्ने सञ्चारमध्यमका विरुद्ध मुद्दा हालिन्छ । मिडियालाई धम्की दिने काम गरिन्छ । पहिला प्रेस काउन्सिललाई लेखेकै भाषा रविले निकिताको फेसबुक वालमा लेखेको पनि शब्द, शैलीबाटै पुष्टि हुन्छ ।

(यस सम्बन्धमा भरत जंगमसँग गरिएको कुराकानीको विस्तृत विवरण आज साँझ प्रकाशित गरिने छ ।)

– ओमपुकार घिमिरे
 

टिप्पणीहरू