घरजमभन्दा रसरंगको परिणाम भयंकर

घरजमभन्दा रसरंगको परिणाम भयंकर

बालबालिका देशको भविष्य अनि कर्णधार हुन् । तर, पछिल्लो समय अधिकांश मुलुकमा नयाँ पुस्ताका दम्पतीले सन्तान जन्माउने प्राकृतिक प्रक्रियालाई बोझ र झमेला ठान्न थालेका छन् ।

व्यस्त र स्वतन्त्र जीवनका कारण उनीहरूले सन्तान जन्माउन छाडेको विभिन्न अध्ययनले देखाएको छ । बच्चा हुर्काउने आत्मविश्वासको कमी, समय र आर्थिक चिन्ताका कारण दम्पतीहरू सन्तान जन्माउनभन्दा नजन्माउनतर्फ अग्रसर भएका हुन् । यस्तो अवस्थालाई ध्यानमा राखेर विभिन्न मुलुकले प्रजनन दर बढाउन विविध योजना ल्याएका छन् । तैपनि विवाहित दम्पतीमा खासै प्रभाव परेको देखिँदैन । केही वर्षदेखि नेपालमा पनि प्रजनन दरमा कमी आएको छ । ‘दुई सन्तान : ईश्वरको बरदान’ बाट घटेर एक सन्तान जन्माउने क्रम बढेको छ । जसले गर्दा जन्मदर निरन्तर ओरालो लागिरहेको छ ।

विश्वव्यापी रूपमा घट्दो जन्मदरले भविष्यमा केटाकेटीभन्दा वृद्धवृद्धाको संख्या धेरै हुने देखिएको छ । घट्दो प्रजनन दर साना मुलुकका लागि थप चुनौतीपूर्ण बन्ने वासिङ्टन विश्वविद्यालयको इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसनद्वारा गरिएको एक अनुसन्धान रिपोर्टमा उल्लेख छ ।

प्रजनन दरमा आएको गिरावटले नेपाल, भुटानलगायत मुलुकलाई निकै असर गर्ने अवस्था छ । सन् २०५० सम्म दक्षिण कोरियाको प्रजनन दर शून्य दशमलव ८२, पोर्तो रिकोको शून्य दशमलव ८४, ताइवानको शून्य दशमलव नौ, सर्बियाको एक दशमलव ०१, युक्रेनको एक दशमलव ०१ पुग्ने अनुसन्धानले देखाएको छ ।

त्यस्तै, सन् २१०० सम्म भुटानको प्रजनन दर शून्य दशमलव ६९, माल्दिभ्सको शून्य दशमलव ७७, पोर्तो रिकोको शून्य दशमलव ८१, नेपाल र दक्षिण कोरियाको शून्य दशमलव ८२ पुग्नेछ । त्यतिबेलासम्म ९७ प्रतिशत मुलुकमा जनसंख्या वृद्धिको मानकलाई निरन्तरता दिन उक्त प्रजनन दर पर्याप्त नहुनेबारे रिपोर्टमा विश्लेषण गरिएको छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू