‘गाईजात्रा’ व्यहोरेका भूतपूर्व प्रधानमन्त्रीलाई ‘महाजात्रा’ हेरेपछि आनन्द

‘गाईजात्रा’ व्यहोरेका भूतपूर्व प्रधानमन्त्रीलाई ‘महाजात्रा’ हेरेपछि आनन्द

केही समयअघिअ आफ्नै पार्टीभित्र ‘गाईजात्रा’ व्यहोर्नु भएका पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चलचित्र ‘महाजात्रा’ हेर्नुभएको छ । 

हिजो साँझ छोरी तथा नेतृ मानुषी यमी भट्टराईसँगै ठमेलस्थित छायाँ सेन्टरमा रहेको हलमा चलचित्र हेर्नुभएको हो । चलचित्र हेरेपछि उहाँले ‘महाजात्रा’ लाई रेटिङ गर्दै १० मा ८ अंक दिनुभएको छ । 

हलबाट बाहिरिँदै गर्दा उहाँले भन्नुभयो, ‘यो फिल्म आम दर्शकदेखि राजनीतिज्ञसम्मलाई सुहाउँदो बनेको छ । म यसलाई १० मा ८ नम्बर दिन्छु ।’ 

डा. भट्टराईले सामाजिक सञ्जालमार्फत् पनि चलचित्रको प्रंशसा गर्नुभएको छ । उहाँले सत्यनिष्ठामा रहन प्रयत्न गर्नेहरूको निजी र पारिवारिक पीडालाई चलचित्रले निकै मार्मिक ढंगले उठाएको बताउनुभयो ।

 

थप लेख्नुभएको छ, ‘महिला पात्रहरूलाई सँधै पुरूषहरूको लाचार छायाँको रूपमा उभ्याइने फिल्मी परम्परालाई तोड्दै उनीहरूको स्वायत्तता र सत्यनिष्ठामा जोड फिल्मको विशेष सबल पक्ष मान्नुपर्दछ ।’

यसअघि नकेपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महाजात्रा हेरेर ९.५ को रेटिङ गर्नुभएको थियो । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, पूर्वरानी कोमल शाहलगायतले पनि चलचित्र हलमा पुगेर हेरिसक्नुभएको छ । 

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, वर्षा राउत, रविन्द्र झालगायतको अभिनय छ । चैत ९ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले अहिलेसम्म १४ करोड रुपैयाँ संकलन गरेको बताइन्छ ।

टिप्पणीहरू