प्रेममा धोका : हत्यादेखि आत्महत्यासम्म

प्रेममा धोका : हत्यादेखि आत्महत्यासम्म

प्रेम अपनत्वको भाव हो । स्नेह र व्यक्तिगत लगाव पनि हो । प्रेम मानिस, उमेर र विभिन्न सम्बन्धअनुसार फरक हुन्छ । वैज्ञानिक दृष्टिकोणमा प्रेम मस्तिष्कमा भएको रसायनलाई अर्को व्यक्तिको उपस्थितिले उत्तेजित गर्नु र त्यो उत्तेजनाको बानी पर्नु हो ।

प्रेमले खराब मानिसलाई समेत असल बनाउन सक्छ भने कुनै बेला अपराधी समेत बनाइदिन्छ । जसलाई पछिल्लो समय मुलुकका विभिन्न स्थानका घटनाक्रमले समेत पुष्टि गर्दछ ।

चैत २ गते मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत स्टाफ नर्स सिरहाकी २२ वर्षीया चन्द्रिका कुमारी दासको अस्पतालनजिकै रहेको डेराको बाथरुममा शव भेटियो । धारिलो हतियारले घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको अवस्थामा प्रहरीले उनको शव फेला पारेको थियो ।

प्रहरीका अनुसार चन्द्रिकाको हत्या उनका प्रेमी सिरहाकै २२ वर्षीय शिवशंकर दासले हत्या गरेका हुन् । उनीहरु कुनै बेला प्रेम सम्बन्धमा बाँधिएका थिए । वैदेशिक रोजगारीको सिलसिलामा शिवशंकर मलेसिया गएपछि भने चन्द्रिका अर्को युवकसँग प्रेम सम्बन्धमा रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

विदेशमै रहँदा आफ्नी प्रेमिका अर्कै पुरुषसँग प्रेम सम्बन्धमा रहेको थाहा पाएपछि शिवशंकर गत फागुन २७ गते नेपाल आएका थिए । त्यसपछि सोझै विराटनगर पुगेका उनले चन्द्रिकासँग भेटे । चन्द्रिकाले पनि नढाँटी आफु अर्कैको मायामा रहेको बताइन् । तर, सहन नसकेपछि उनले कोठामै उपलब्ध साना हतियार प्रहार गरी हत्या गरेको देखिन आएको छ ।

हत्यापछि चन्द्रिकाकी दिदीको ह्वाट्सएपमा ‘बहिनीलाई मारे अब म पनि मर्न जाँदैछु’ भनेर मेसेज पठाएका उनी चैत ४ गते नोबेल मेडिकल कलेज नजिकैको एउटा होटलमा झुण्डिएको अवस्थामा फेला परे ।

उता सुनसरीको धरान उपमहानगरपालिका–१८, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै चैत ६ गते स्थानीय १९ वर्षकी सुमना श्रेष्ठको विभत्स रुपमा हत्या भएको अवस्थामा शव भेटियो । उनको हत्या अभियोगमा चैत ८ गते धनकुटा नगरपालिका–९, मूलघाटका १९ वर्षीय बाबुराम भुजेललाई प्रहरीले समात्यो । प्रहरीका अनुसार सुमना र बाबुराम दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

सामाजिक सञ्जालमार्फत गाँसिएको सम्बन्धमा गत पुसदेखि खटपट भएको र त्यो नै हत्याको कारण बनेको प्रहरीको निष्कर्ष छ । धरानस्थित एक कम्पनीमा काम गर्न थालेपछि सुमना सोही कम्पनीमा कार्यरत प्रदिप श्रेष्ठसँग नजिकिएकी थिइन् ।

उनीहरुले फेसबुक आईडीसमेत एउटै चलाउन थालेका थिए । प्रेमिका अर्कैसँग सम्बन्धमा रहेको थाहा पाएपछि सुमना र बाबुरामको सम्बन्धमा चिसोपना आएको तथ्य खुलेको छ । चैत २ गते भुजेलले सुमनालाई धनकुटाको मूलघाटमा लगेपछि सम्बन्ध अझ चिसियो । फेसबुक प्रयोगको विषयलाई लिएर विवाद चर्किएपछि उनले आफ्नो स्कुटरमा राखिएको खुकुरी निकालेर प्रेमिकाको हत्या गरे ।

हत्यापछि शवलाई खोल्सामा फालेर मूलघाटस्थित आफ्नो डेरा पुगेका उनलाई चैत ८ गते प्रहरीले पक्रेको थियो । मोरङको पथरी शनिश्वरे नगरपालिका–७, लामाटोल बस्दै आएकी १५ वर्षीया ज्ञानमति थुलुङको गत फागुन २० गते हत्या भयो । उक्त हत्यामा पनि प्रेम सम्बन्ध जोडिएको प्रहरीले जनाएको छ ।

घटनाको दिन उनी राति शौचालयको लागि कोठाबाट बाहिर निस्किएकी थिइन् । शौचालयको ढोकामा पुगेपछि पछाडिबाट उनीमाथि खुकुरी प्रहार भयो । प्रहरीले उनको हत्या अभियोगमा फागुन २१ गते ग्रामथान गाउँपालिका–४ घर भई बाराको सिमरा बस्दै आएका ३८ वर्षीय धीरेन चौधरीलाई पक्रेको हो ।

उनी विवाहित हुन् । घरमा १४ वर्षीय छोरा, श्रीमती र आमासमेत रहेका धिरेन परिवारसँगै असन्तुष्ट रहेको बताउँछन् । किनकि उनको अधिकांश समय वैदेशिक रोजगारीमा बितेको थियो ।

उनकी श्रीमती पनि वैदेशिक रोजगारीका क्रममा कतारमा छिन् । प्रहरीका अनुसार उनी विदेशमै हुँदा फेसबुकबाट ज्ञानुमतीसँग चिनजान भएको देखिन्छ ।

करिब एक वर्षअघि नेपाल फर्किएका धिरेनले गत असार १३ गते ज्ञानुमतीलाई भगाएर लैजाने प्रयास गरे । तर, भारत जाँदै गर्दा मानव बेचविखनविरुद्ध काम गर्ने संस्थाले उनीहरुलाई नियन्त्रणमा लिएर परिवारको जिम्मा लगाएको थियो । पछि ज्ञानुमतीले विवाह गर्न नमानेपछि उनले हत्या गरेको प्रहरीको निष्कर्ष छ ।

यता, काठमाडौंको गोकर्णेश्वरमा प्रेम प्रस्ताव अस्वीकार गर्दा युवतीको हत्या नै भयो । गोकर्णेश्वर नगरपालिका–३, तारेभीर बस्ने १८ वर्षीया सुषमा लामाको गत फागुन २४ गते शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा गाडिएको अवस्थामा शव भेटियो ।

शरीरको भाग गाडिएको र हात मात्रै देखिएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरीले फागुन २५ गते शव खाल्डोबाट निकाल्यो ।

कक्षा १२ मा अध्ययनरत सुषमा गत माघ २२ गते बिहान कलेजको निम्ति घरबाट हिँडेकी थिइन् । त्यसपछि बेपत्ता भएकी उनको शव गाडेको अवस्थामा भेटिएको हो । उनको हत्या अभियोगमा प्रहरीले स्थानीय २१ वर्षीय रुपेन्द्र लामालाई गत चैत ३ गते नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार सुषमाले प्रेम प्रस्ताव अस्वीकार गरेपछि उनले हत्या गरेका हुन् । रुपेन्द्रले आफूले आठ महिनादेखि उनलाई एकोहोरो मन पराएको र पटकपटक प्रेम प्रस्ताव राख्दा अस्वीकार गरेपछि हत्या गरेको प्रहरीसमक्ष साबिती बयान दिएका छन् ।

हत्यापछि मोबाइल र किताब सँगै लिएर गएका उनले माघ २३ गते सुषमाको फेसबुक वालमा अर्कैको बेहुला बेहुलीको फोटो सम्पादन गरी ‘सरी सबैलाई म तीन दिनपछि आउँछु’ भन्दै पोष्ट समेत गरेका थिए ।

यी सबै घटनाको भित्री चुरो प्रेम, प्रेममा धोका र अस्वीकार देखिन्छ । प्रेम सम्बन्धमा आउने उतार–चढाव अपराधको अर्को ठूलो कारण बन्दै गएको डरलाग्दो प्रवृत्तिले समाजमा जरा गाडेको छ ।

राज्यले ध्यान नदिए विकराल रुप लिन्छ : मनोविद्

मनोसामाजिक परामर्शदाता रञ्जु खरेल राज्यले अहिलेदेखि नै यस्ता घटनामा ध्यान नदिए यसले विकराल रुप लिने बताउँछिन् । उनले भनिन्, ‘राज्यले यसतर्फ ध्यान दिन जरुरी छ । यस्ता घटना न्यूनीकरणका लागि आवश्यक कार्यक्रम ल्याउनुपर्छ । अहिलेदेखि नै पहल नगरे अबको १० वर्षमा यसले विकराल रुप लिने देखिन्छ ।’

प्रत्येक विद्यालयमा मनोविद् वा परामर्शदताको व्यवस्था गर्नुपर्ने, विद्यार्थीहरुलाई प्रेम सम्बन्धका बारेमा खुलेर आफ्ना कुरा गर्न सिकाउनुपर्ने वा यसबारे जानकारी गराउनेजस्ता कार्य गरे यस्ता घटना न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ छ ।

परिवारका सदस्यले आफ्ना बालबच्चालाई सामाजिक नियम र मानवीय सम्बन्धका बारेमा बुझाउन नसक्दा पनि यस्ता खालका घटना घटेको खरेल बताउँछिन् । आफ्नो प्रेम सम्बन्धका बारेमा खुलेर घरपरिवारमा कुरा गर्न नसक्दा विशेषगरी किशोरावस्थाका केटाकेटीहरु यस्तो आपराधिक बाटोतर्फ मोडिने गरेको पाइएको छ ।

‘हाम्रो समाज र घरपरिवारमा प्रेम सम्बन्धका बारेमा छलफल गर्ने वा खुलेर कुरा गर्ने अभ्यास छैन । यसले गर्दा विशेषगरी किशोरावस्थाका केटाकेटी आफ्नो भावना व्यक्त गर्न नपाउँदा आपराधिक बाटोतर्फ मोडिन्छन्,’ खरेलले भनिन् । उनी थप्छिन्, ‘पाश्चय मुलुकहरुमा यस्ता घटना कमै सुनिन्छ । किनकि त्यहाँ प्रेम सम्बन्धलाई सामान्य लिइन्छ । घरपरिवार र समाजमा खुलेर यसबारे कुरा राखिन्छ । तर, हाम्रोमा त्यस्तो छैन । जसले गर्दा भित्रभित्रै कुरा खेलाउँदा सहन नसकेर वा भावनामा आएर पनि मानिसहरु यस्ता अपराध गर्न पुग्छन् ।’

मनोसामाजिक परामर्शदाता खरेल यस्ता घटना हुन नदिन अभिभावकहरुले आफ्ना बालबालिकाको अवस्था बुझिरहन र उनीहरुलाई आफ्नो साथको आभास दिलाउन आवश्यक रहेको बताउँछिन् ।  

‘बालबालिकालाई आफ्ना कुरा खुलेर गर्नसक्ने बनाउनुपर्छ । उनीहरुलाई डर, त्रास होइन्, सँधै आफ्नो साथको आभास दिलाउनुपर्छ । र, जस्तोसुकै महशुस गरिरहेको वा सोचिरहेको भएपनि भन्न आग्रह गर्नुपर्छ,’ उनले अभिभावकहरुलाई आग्रह गर्दै भनिन् ।  

परिवार र समाज जिम्मेवार हुन आवश्यक छ : प्रहरी

नेपाल प्रहरीका प्रवक्ता नायव महानिरीक्षक (डिआइजी) भीमप्रसाद ढकाल यस्ता घटना घट्न नदिन वा न्यूनीकरणका लागि परिवार, समाज र सम्बन्धित स्थानीय तह जिम्मेवार हुन आवश्यक रहेको बताउँछन् । उनले भने, ‘हामीले हाम्रो तर्फबाट सक्दो प्रयास गरिरहेका छौं । तर, यस्ता घटना हुन नदिन परिवार, समाज र सम्बन्धित स्थानीय तहहरु नै जिम्मेवार हुनुपर्छ ।’

पछिल्लो समय पारिवारिक कुसंस्कार बढेकाले पनि यस्ता अपराधमा वृद्धि भएको उनको तर्क छ । परिवारका ठूलाबडाले बालबालिकालाई राम्रो संस्कार दिन नसक्दा त्यसले अपराधको रुप लिएको उनले बताए ।

‘१५–२० वर्षअघि अधिकांश हत्या नचिनेको व्यक्तिबाट हुन्थ्यो । तर, केही वर्षयता चिनजान भएकै व्यक्ति, आफन्त वा नजिकको मानिसबाट हत्या हुने क्रम बढ्दो छ,’ उनले भने, ‘यसको प्रमुख कारण पारिवारिक कुसंस्कार हो । परिवारमा नैतिक शिक्षा, मूल्यमान्यता र आचरणको अभाव हुँदा कसैले केही भनेमा वा आफुले भनेको नमानेपछि पनि आवेगमा आएर हत्या गर्ने गरिएको छ ।’

त्यस्तै, आफुलाई मनपर्ने मानिसलाई प्रेम प्रस्ताव राख्दा अस्वीकार गरेपछि सहन नसकेर वा ‘इगो हर्ट’ भएर पनि हत्या गर्ने गरिएको उनले बताए । उनले सामाजिक सञ्जालको बढ्दो प्रयोग, मादक पदार्थ सेवन, वैदेशिक रोजगारी, आर्थिक लेनदेन पनि हत्या, आत्महत्याको कारण बन्दै गएको बताए ।

‘नेपाल प्रहरीले यस्ता घटना हुन नदिन वा न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रमसँगै सम्बन्धित व्यक्तिलाई परामर्श दिने, सम्बन्धित क्षेत्रमा सुरक्षा बढाउनेजस्ता काम गर्दै आइरहेको छ । त्यस्तै, घटना घटेपछि पनि त्यसको गहिरो अनुसन्धान गर्ने, अभियुक्त पक्राउ गर्नेलगायत काम पनि हामीले गर्दै आएका छौं,’ उनले भने ।

‘तर, यसतर्फ परिवार, समाज र स्थानीय तहहरु पनि सचेत हुन आवश्यक छ । बालबालिकाहरुलाई नैतिक शिक्षा र संस्कार सिकाउनुपर्छ । समाज पनि जिम्मेवार हुनुपर्छ । सबै स्थानीय तहहरु आफ्नो कार्यक्षेत्रभित्र भइरहेका घटनाबारे जानकारी हुनुपर्छ । त्यसको न्यूनीकरण वा नियन्त्रणका लागि आफ्नो तर्फबाट पनि प्रयास गर्नुपर्छ,’ उनले थपे ।

पाँच वर्षमा झण्डै ३२ सयको हत्या

प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा तीन हजार एक सय १५ जनाको हत्या भएको छ । त्यस्तै, तीन हजार १३ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।

गत वर्ष पाँच सय २२ जनाको हत्या भएको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा पाँच सय तीन जनाविरुद्ध मुद्दा दायर भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

त्यसको अघिल्लो वर्ष २०७८/०७९ मा छ सय २१ जनाको हत्या भयो भने पाँच सय ९९ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा सात सय सात जनाको हत्या हुँदा घटनामा संलग्न छ सय ९७ जनाविरुद्ध मुद्दा दायर भएको प्रहरीले जनाएको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा पाँच सय ८६ जनाको हत्या र पाँच सय ५५ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको देखिन्छ । यसैगरी, आर्थिक वर्ष २०७५/०७६ मा छ सय ७९ जनाको हत्या भएको थियो । हत्या आरोपमा प्रहरीले छ सय ५९ जनाविरुद्ध मुद्दा दायर गर्यो । अधिंकाश हत्या आफन्त, चिनजान भएको व्यक्तिबाटै हुने गरेको प्रहरीको भनाइ छ ।

टिप्पणीहरू