चर्चामा 'हिरामण्डी', अष्ट्रेलियामा रमाउँदै मुख्य अभिनेत्री

चर्चामा 'हिरामण्डी', अष्ट्रेलियामा रमाउँदै मुख्य अभिनेत्री
सुन्नुहोस्

बलिउडमा ड्रामा वेब सिरिजको क्रेज बढ्दै गएको छ । विशेषगरी ओटीटीको विकाससँगै वेब सिरिजमा रमाउने दर्शक बढ्दै गएका हुन् । 

नेटफ्लीक्स, एमाजोन प्राइम, डिज्नी हटस्टार, जी-फाइभ, जीओ-सिनेमा जस्ता ओटीटी प्ल्याटफर्मकै कारण दर्शकहरु हलसम्म जान छाडेको बहससमेत भैरहेको छ । पछिल्लो समय मिर्जापुर, पञ्चायत, स्क्याम, फर्जीजस्ता वेब सिरिज निकै चर्चित छन् । यही भीडमा एउटा नयाँ वेब सिरिज थपिएको छ, हिरामण्डीः दी डायमण्ड बजार । 

अहिले यो सिरिजको चर्चा व्यापक छ, र चर्चाको केन्द्रमा छन् यसका निर्देशक र कलाकारहरु । दुई सय करोडमा निर्माण भएको यो सिरिजलाई सञ्जयलीला भन्सालीले निर्देशन गरेका हुन् । 'पद्मावत', 'गंगुवाइ कथियावाडी', 'बाजिराओ मस्तानी' जस्ता ब्लकबस्टर चलचित्रमा उनकै निर्देशन थियो। 

उनको 'रामलीला', 'सावारिया', 'देबदास' जस्ता चलचित्र बलिउडमा आज पनि ऐतिहासिक चलचित्रको रुपमा हेरिन्छन् । प्रायः सभ्यता र इतिहासका कथावस्तुमा चलचित्र बनाउन रुचाउने भन्सालीले वेव सिरिज कस्तो बनाएका छन् त ? यो चासोको विषय छ । 

यस्तै, यस वेब सिरिज कलाकारहरुको कारण पनि चर्चामा छ । आधा दर्जन चर्चित कलाकारहरु यसमा देखिदैछन् । जसमा अभिनेत्री मनिषा कोइराला, सोनाक्षी सिन्हा, अदिति राव, ऋचा चड्डा, सन्जिडा शेख लगायतका कलाकार मुख्य भूमिका रहेको छ। सिरिजको लुक्स पनि सार्वजनिक भइसकेको छ । आगामी अप्रिलबाट नेटफ्लीक्समा रिलिज हुने भनिएको सिरिजको अहिले प्रचार-प्रसारको काम भइरहेको छ । 

स्मरण रहोस्, यस सिरिजको मुख्य भूमिका निभाएकी अभिनेत्री मनिषा यतिबेला अष्ट्रेलियामा छिन् । उनी एक साताअघि लाहुरी टिभीले आयोजना गरेको होली विशेष कार्यक्रममा सहभागी हुन नेपालबाट त्यहाँ पुगेकी हुन् । मनिषासँगै कलाकार एंव सञ्चारकर्मी दिनेश डिसी पनि अष्ट्रेलिया गएका थिए । उनीहरु केही दिन नेपाल फर्कन लागेको बताइन्छ । 

लामो समयपछि बलिउडमा कमब्याक गरेकी मनिषाको वेब सिरिज 'हिरामण्डी'लाई लिएर नेपालमा पनि चर्चा भएको पाइन्छ ।


 

टिप्पणीहरू