ढोलाहिटी घटना : तिहारदेखि झगडा, होलीमा हत्या

सुन्नुहोस्

ललितपुरको ढोलाहिटीमा दुई युवकको हत्यामा संलग्न रहेको आरोपमा समातिएका पाँच जनाविरुद्ध मुद्दा चलाउने तयारी गरिएको छ । 

जिल्ला प्रहरी परिसर ललितपुरले आज पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न एक फरारसहित पाँच जनाविरुद्ध कर्तव्य ज्यान कसूरमा मुद्धा चलाउने तयारी गरेको जानकारी दिएको हो । प्रहरीले घटनाका मुख्य आरोपित खोटाङका ३१ वर्षीय विजय राई र ३० वर्षीय सुलभ राई, भोजपुरका ३७ वर्षीय मुकारुङ राई, काठमाडौंका २५ छेङ्वीहाङ राईलाई सार्वजनिक पनि गरेको छ। 

सार्वजनिक गरिएका चार र फरार एकसहित पाँचजनाविरुद्ध कर्तव्य ज्यान कसूरमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

अस्ति राति होली खेलेर खाजा खान ढोलाहिटीको डी पोपिना खाजाघर पुगेका दुई समूहबीच चक्कु हानाहान हुँदा सुनसरीका २८ वर्षीय रेबस राई र पाँचथरका २७ वर्षीय पुजन राईको निधन भएको थियो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएकोमा पाँच जनाविरुद्ध मात्र मुद्दा दायर गर्ने निर्णय गरेको हो । 

प्रहरीले घटना भएको डी पोपिना खाजाघरका सञ्चालक विजयले छुरा प्रहार गरेको जानकारी दिएको छ । उनी लागू औषधी मुद्दामा यसअघि २०७७ सालमा दुई वर्ष जेल बसेर छुटेको समेत खुल्न आएको छ । 

प्रहरीका अनुसार दुई समूहबीच गत तिहारदेखि नै विवाद रहेको खुल्न आएको छ । तिहारमा अपशब्द बोलेको निहुँमा विवाद सुरु भएको र त्यहि झगडाले घटना हुन पुगेको प्रहरीको निष्कर्ष छ ।

 

टिप्पणीहरू