चाड पर्यो कहिले कहिले छुट्टी आयो अहिले

चाड पर्यो कहिले कहिले छुट्टी आयो अहिले
सुन्नुहोस्

वैशाख १ गते दिइने नयाँ वर्षको विदा जेठ १ गते दिइए के होला ? दशैँ, तिहारजस्ता चाडपर्वहरु वास्तविक तिथिमिति भन्दा एक महिनापछिको मितिमा सरकारी पात्रोमा समावेश गरिए कति हास्यास्पद लाग्ला ? शेर्पा समुदायले धुमधामका साथ मनाउने ग्ल्याबो ल्होसार पर्वको सन्दर्भमा पञ्चाङ्ग निर्णायक समितिको निर्णय त्यस्तै हास्यास्पद बनेको छ । 

शेर्पा समुदायले यस वर्षको ग्याल्बो ल्होसार माघ २७ गते नै मनाइसकेका छन् । तर, पञ्चाङ्ग निर्णायक समितिको लापरवाहीका कारण क्यालेन्डरमा भने फागुन २८ गते बिदा दिइएको छ । त्यही क्यालेन्डरअनुसार राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत विशिष्ट व्यक्तिहरुले शुभकामना सन्देशसमेत जारी गरेका छन् ।  

नेपाल शेर्पा संघले माघ २७ गते नै ग्ल्याबो ल्होत्सार मनाइसकेको प्रष्ट पार्दै आज उक्त पर्व नभएको सूचना दिएको छ । संघले विज्ञप्ति सार्वजनिक गर्दै सम्बन्धित क्षेत्रको विज्ञलाई राखेर सही तिथिमितिमा पात्रो निर्माण गर्न सरकारलाई गरेको अनुरोध बेवास्ता गरिएकाले यस्तो लाजमर्दो अवस्था आएको बताएको छ ।

पात्रो सच्याउन माग गर्दै संघले भनेको छ, 'विगतमा पनि भोटचन्द्र पात्रोअनुसार यस्तो  बारम्बार अनुरोध गर्दा पनि सुधार हुन सकेन । गत वर्ष संघकै अनुरोधमा पञ्चाङ्ग निर्णायक समितिले सही तिथिमै ल्होसार पारेको थियो । त्यही क्रमलाई निरन्तरता दिने अपेक्षा गरिए पनि त्यसो हुन नसक्नु दु:खद पक्ष हो । यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै सच्याउन जोडदार माग गर्दछौँ ।'

टिप्पणीहरू