बस्ने विदेशमा,किचलो स्वदेशमा

बस्ने विदेशमा,किचलो स्वदेशमा
सुन्नुहोस्

गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतका पूर्वअध्यक्ष कूल आचार्यविरुद्ध राहदानी दुरुपयोगको आरोप लागेको छ । उनले दोहोरो राहदानी बोकेको आरोपसहित परराष्ट्र मन्त्रालय र जिल्ला प्रहरी परिसर, काठमाडौंमा केही दिनअघि उजुरी परेको बताइएको छ । 

काठमाडौं महानगरपालिका ३, बसुन्धरा निवासी तर २८ वर्षदेखि लण्डन बस्दै आएका एनआरएनए, बेलायतका वर्तमान अध्यक्षले आचार्यविरुद्ध उजुर हालेका हुन् । उनले आचार्यको नेपाली नागरिकता र नेपाली राहदानी छानबिनको माग गरेका छन् । 

बेलायती राहदानीसँगै उनीसँग नेपाली राहदानी पनि भएको उजुरीकर्ताको दावी छ । सन् २००२ मा गैरकानुनी बाटोबाट जर्मनी हुँदै बेलायत प्रवेश गरेका उनले नेपाल र नेपालीकै इज्जतमाथि आँच पुर्याउने कार्य गरेको लिखतमा उल्लेख छ ।

सन् २००६ मा उनले बेलायती नागरिकको हैसियतले पहिलोपटक उताको राहदानी लिएको र सन् २०१२ र २०२२ मा नवीकरण गरेको आरोप पनि लगाइएको छ । लेखिएको छ, ‘उनले हाल बोकेको राहदानी युनाइटेड किङ्गडम अफ ग्रेट ब्रिटेन एण्ड नर्दन आयरल्याण्डबाट सन् २०२२ सेप्टेम्बर २७ मा जारी भएको हो ।’ 

सन् २०३२ सेप्टेम्बर २७ सम्म बहाल रहने सो राहदानीको नम्बर १२४७६११४० देखिन्छ । बेलायती नागरिक बनिसकेका उनको नेपाली राहदानीको नम्बर २४१८१६१ हो ।

सन् २००४ डिसेम्बर १० सम्म बहाल रहेको राहदानी सन् २०१४ जुलाई ६ मा नवीकरण गरिएको थियोे  । उनीसँग अहिले पनि ०४५८५०३९ नम्बरको नेपाली राहदानी रहेको बिरोधीहरुले बताएका छन् । 

दर्ता नम्बर ४७७ को उजुरीमा भनिएको छ, ‘हामी बेलायतजस्तो सभ्य समाजमा रहेर मातृभूमिका लागि केही रचनात्मक कामसहित ज्ञान, सीप र पूँजी हस्तान्तरण गर्न कटिबद्ध हुनुपर्नेमा निज आचार्यले झन् उल्टो गैरकानुनी काम गरेर नेपाल र नेपालीकै इज्जतमाथि आँच पुर्याउनु भएपछि म उजुरी गर्न बाध्य भएँ ।’

त्यस्तै, उनले जिल्ला प्रहरी परिसर, काठमाडौंमा पनि राहदानी ऐनविरुद्धको कसूरमा जाहेरी दिएका छन् । नेपाली नागरिक ऐन, २०६३ को दफा १० मा कुनै नागरिकले आफूखुशी विदेशी मुलुकको नागरिकता लिएपछि उसको नेपाली नागरिकता कायम नरहने उल्लेख छ । 

पुनः नेपाली नागरिकता प्राप्त गर्न विदेशी मुलुकको नागरिकता त्यागेर नेपाल आई बसोबास गर्नुपर्ने र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा सम्बन्धित अधिकारीलाई बुझाउनुपर्ने व्यवस्था छ । 

दफा ११ मा भनिएको छ, ‘कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुनेछ ।’ ऐनमा कसैले पनि एकभन्दा बढी नागरिकता राख्न नपाउने स्पष्ट छ । 

राहदानी ऐन, २०७६ को दफा २१ मा झुठ्ठा विवरण देखाएर राहदानी लिएमा वा लिन प्रयत्न गरेमा ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना र ६ महिनादेखि एक वर्षसम्म कैद सजाय हुने प्रावधान छ ।

टिप्पणीहरू