यसै वर्ष चीनले नेपालमा धेरै काम सक्दै

यसै वर्ष चीनले नेपालमा धेरै काम सक्दै
सुन्नुहोस्

राष्ट्रिय गौरवको आयोजना ‘सुनकोशी–मरिन डाइभर्सन बहुउध्देश्यीय आयोजना’ को सुरुङ्गमार्ग खन्ने काम लगभग अन्तिम चरणमा पुगेको छ । ६ महिनामै निर्माण सम्पन्न हुनेगरी धमाधम काम भइरहेको छ । 

९० चिनियाँसहित तीन सय जना नेपाली कामदारले केही महिनामै ठाउँ ठाउँमा सिन्चाइ पुर्याउनेगरी काम गरिरहेका छन् । मधेश प्रदेशको पाँच जिल्लामा सहजै सिन्चाइ पुग्ने विश्वाससहित थालिएको आयोजना लक्ष्यभन्दा छिटो सकाउने उनीहरूको दावी छ । 

यसैवीच गत साता नेपालका लागि चिनियाँ राजदूत छन सोङ,सैनिक सहचारी र इकोनोमिक काउन्सिलर अफिसका कूटनीतिज्ञहरुले पश्चिम र पूर्वका परियोजनाको स्थलगत निरीक्षण गरी काम तदारुकताका साथ सक्न निर्देशन दिएको बुझिएको छ । 

सोहीअनुरुप रफ्तारमा निर्माण कार्य अघि बढेको छ । परियोजना सम्बध्द नेपाली अधिकृतहरुका अनुसार समयअगावै निर्माण सम्पन्न हुने सम्भावना देखिएको छ । धनुषा,रौतहट,बारा,सर्लाही, महोत्तरीमा वर्षैभरि सिन्चाइ पुर्याउने उद्देश्यसहित थालिएको आयोजनाले मुलुकको सम्बृध्दिमा दोहोरो भूमिका खेल्नेछ । 

यस आयोजनाले ‘आर्थिक क्रान्ति’ समेत ल्याउने धेरैको निश्कर्ष छ । १३.२ किलोमिटरमध्ये १०.५४ किलोमिटर सुरुङ्गमार्ग खन्ने काम सकिएको छ । २.८४ किलोमिटर सुरुङ्गमार्ग खन्नका लागि ६ महिनाको टार्गेट राखिएको छ । 

शुरुवाती दिनमा झण्डै आठ सय जना कामदार परियोजनामा खटिएका थिए । अहिले तीन सय जना लक्ष्यभन्दा अगाडि नै काम सकाउनका लागि रातदिन नभनिकन खटिएका छन् । 
कामदारहरुले पहिले घण्टाको हिसाबले काम गर्दै आएका थिए । दुई सिफ्टमा १२–१२ घण्टा काम गरिन्थ्यो । काम अन्तिममा पुगेपछि विभिन्न टिम बनाइएको छ । एउटा टिममा पाँचदेखि सात जना छन् । 

लगभग साढे ११ अर्ब रुपैयाँको लगानीमा शुरु भएको निर्माण सकिएपछि मधेशका किसानलाई निकै राहत हुनेछ । सिन्धुली र रामेछाप हुँदै बग्ने सुनकोशी नदीलाई बाँध बाँधेर सिन्चाइका साथै ३१ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य यस परियोजनाको छ । 

यसका लागि सिन्धुलीको खुर्कोटमा हेडवर्क निर्माण गरी सुरुङ्गमार्फत सुनकोशी नदीको पानी मरिन नदीको किनारमा बनाइएको ६४ मीटर अग्लो हेडमा खन्याइनेछ । त्यहाँ विद्युत उत्पादनपछि बग्ने पानी मरिन नदी हुँदै बागमतीमा पुग्नेछ । बागमती सिन्चाइ आयोजनाबाट करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिन्चाइ सुविधा पुग्नेछ ।  

हाल बाग्मती आयोजनाबाट ४५ हजार हेक्टर जमिनमा सिन्चाइ भइरहेको छ । धान उत्पादनको पकेट क्षेत्र रहेको यी जिल्लामा सिन्चाइबाट उत्पादन पनि बढ्नेछ । आयोजनाका एक अधिकृतका अनुसार लक्ष्यभन्दा छिट्टै नै निर्माण सम्पन्न हुनेगरी काम भइरहेको छ । सुरुङ्ग खन्ने मेसिनले काम नगर्दा अलिक समस्या भएको उनले बताए । 

‘सुरुङ्गमार्ग खन्ने काम लक्ष्यभन्दा अगाडि सम्पन्न गर्ने योजना छ । मेसिनले अलि धोका दिइरहेको छ । अबको ६ महिनामा सकाउने लक्ष्य लिएका छौं । कामदारहरुलाई जति चाँडो काम सकाउनुहुन्छ,त्यति चाँडो जान सक्नुहुन्छ भनेपछि धमाधम खटिनुभएको छ । आधाभन्दा बढी कामदार काम सकाएर गइसक्नुभयो’,उनले भने । 

सुरुङ्ग खन्दा ‘ब्लास्टिङ’ गर्नुपर्ने झण्झटबाट मुक्ति पाउन चीनबाटै अटोमेटिक टनेल बोरिङ मेसिन आयात गरिएको छ । उक्त मेसिन बेलाबखत बिग्रिने हुँदा काममा केही समस्या भएको छ । 

जिम्मा लिएको काम धमाधम 

चीनले मुलुकका थुप्रै आयोजना निर्माणको जिम्मा लिएको छ ।  राष्ट्रिय गौरवका आयोजनादेखि लिएर विभिन्न निर्माण परियोजनाहरुको काम धमाधम अघि बढेको छ । अधिकांश परियोजना सन् २०२४ मै सम्पन्न हुने देखिएको छ । 

चिनियाँ सरकारले बनाइ दिएको बलम्बुस्थित सशस्त्र प्रहरी बल, नेपालको तालिम केन्द्र निर्माण पनि समयअगाडि नै सम्पन्न भएको थियो । 
नारायणघाट–मुग्लिङ सडकखण्डको निर्माण तीव्र गतिमा अघि बढेको छ । सिध्दार्थ राजमार्गअन्तर्गत सर्वाधिक पहिरोग्रस्त क्षेत्र सिध्दबाबामा सुरुङ खन्ने काम शुरु भएको छ । 

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन (सिएससीइसी) ले कूल एक हजार १२६ मीटर लामो सुरुङ्ग बनाउँदै छ । त्यस्तै,बुटवल र पाल्पातर्फको ७८० मीटर सडकमा दोहोरो लेन,स्लोप प्रोटेक्सनसहित संरचना गरी कूल २.५९ किलोमिटर क्षेत्रमा भौतिक संरचना निर्माण हुँदैछ ।

टिप्पणीहरू