एमालेले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

एमालेले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ध्यानाकर्षण पत्र बुझाएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा ओलीले प्रधानमन्त्री दाहाललाई भेटेर पत्र हस्तान्तरण गरेको छ ।

एमालेले गत मंसिर १४ देखि पुस १ गतेसम्म पश्चिमको झुलाघाटदेखि पूर्वको चिवाभञ्ज्याङसम्म सञ्चालन गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानका क्रममा विभिन्न ठाउँमा जनताले राखेका मागलाई एकीकृत गरी नेपाल सरकारसमक्ष ध्यानाकर्षणपत्र प्रस्तुत गरिएको जनाएको छ ।

ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले मध्यपहाडी क्षेत्रका विकास निर्माण, जनसेवा र समृद्धिका विषयमा एमालेले प्रस्तुत गरेको पत्रले नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘एमालेको अभियानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणमा महत्वपूर्ण सहयोग पुगेको छ ।’

उहाँले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी थालिएकाले त्यसलाई सकेसम्म जनमुखी बनाइने प्रतिबद्धता जनाउनुभएको छ । प्रधानमन्त्रीले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको ढाँचा, समय र प्रक्रियामा गुणात्मक परिवर्तन गर्न लागिएकाले त्यसबाट राम्रो परिणाम आउनेमा आफू आशावादी रहेको उल्लेख गर्नुभयो ।

त्यसअघि एमाले अध्यक्ष ओलीले पार्टीले सञ्चालन गरेको अभियानले मध्यपहाडी क्षेत्रको जनजीवन, विकास निर्माण, जनताको मनोविज्ञान, राजनीतिक सहकार्यको स्थिति, समृद्धिको आकाङ्क्षा र सम्भावना बुझ्न महत्वपूर्ण योगदान पुगेको बताउँदै ध्यानाकर्षणपत्रमा उल्लेखि विषयलाई बेलैमा सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको हो ।

टिप्पणीहरू