बेइजिङमा १०६५ वटा पार्क, आधा भूभागमा हरियाली

बेइजिङमा १०६५ वटा पार्क, आधा भूभागमा हरियाली

चीनको राजधानी बेइजिङमा कुल क्षेत्रफलको झण्डै आधा भूभाग हरियालीले ढाकेको छ । गत वर्ष सन् २०२३ मा बेइजिङले पर्यावरणीय विकासमा थप प्रगति गरेको बताइएको छ । 

गत वर्षको अन्तसम्ममा राजधानीको ४४.९ प्रतिशत भूभाग बोटविरुवाले ढाकिएको छ । मेयर यिन योङले नगरको कार्यप्रगति विवरण प्रस्तुत गर्दै उक्त जानकारी गराएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

गत वर्ष बेइजिङमा एक हजार हेक्टर जमिनमा वृक्षारोपण गरिएको थियो । सन् २०१२ मा ३८.६ प्रतिशत भूभाग हरियाली रहेको शहरमा १२ वर्षमा बढेर ४४.९ प्रतिशत पुगेको हो । अहिले बेइजिङलाई ‘राष्ट्रिय हरित नगर’ को विशेषण दिइएको छ । 

गत वर्ष शहरमा ६० वटा नयाँ पार्क, ५० वटा साना हरितस्थल बनाइएको थियो । यतिखेर बेइजिङमा कुल एक हजार ६५ वटा पार्क सञ्चालनमा आएका छन् ।

स्थानीय पालिकाको निरन्तरको प्रयासपछि बेइजिङमा प्रदुषणको मात्रा घटेर निकै तल पुगेको छ । सन् २०२४ को अन्तसम्ममा नगर थप आधुनिक बन्ने विश्वास दिलाउँदै मेयरले भनेका छन्, ‘बेइजिङ मानव र प्रकृतिको अनुपम संगमस्थल बन्ने छ ।’

टिप्पणीहरू