कोभिड–१९ को नयाँ भेरियन्ट ‘जेएन वान’ नेपालमा पनि पुष्टि

कोभिड–१९ को नयाँ भेरियन्ट ‘जेएन वान’ नेपालमा पनि पुष्टि
सुन्नुहोस्

कोभिड–१९ संक्रमणको नयाँ भेरियन्ट ‘जेएन वान’ नेपालमा पनि फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै ओमिक्रोनको नयाँ भेरियन्ट नेपालमा पहिलो पटक पुष्टि भएको जानकारी दिएको हो । 

विज्ञप्तिमा भनिएको छ, ‘देशका विभिन्न भागहरुबाट विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित १६ वटा पीसीआर तथा एन्टिजेन पोजेटिभ नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मिति २०८०-९-२२ मा गरेको पछिल्लो जेनोम सेक्वेन्सी प्रविधिबाट सात वटा नमुनामा ओमिक्रोनको सब–भेरियन्ट जेएन वान नेपालमा पहिलो पटक पुष्टि भएको जानकारी गराउँदछौं ।’

कोभिड–१९ को नयाँ सब–भेरियन्टको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्क, स्वास्थ्य कार्यालयमार्फत आवश्यक स्क्रीनिंग र निगरानी निरन्तर गर्नुका साथै स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थालाई स्वास्थ्य उपचार व्यवस्थापनका लागि तयार अवस्थामा रहन अनुरोध गरिएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले संक्रमण र संक्रमणको फैलावट रोकथाम गर्नका लागि जनस्वास्थ्यको मापदण्डहरु अनिवार्य रुपमा पालना गर्न गराउन समेत अपिल गरेको छ ।

टिप्पणीहरू