अध्यक्ष र हेडसरको मिलेमतोमा १८ लाख झ्वाम्

अध्यक्ष र हेडसरको मिलेमतोमा १८ लाख झ्वाम्

बाँकेको एक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नरैनापुर गाउँपालिका–२ मा सञ्चालित मदरसा दारुल उलूम अमजदिया बरकातियाका प्रधानाध्यापक कलिम अहमद जोलाह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बदरुददुजा खाँ विरुद्ध आज भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

उनीहरुमाथि तलबभत्ता, छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तकलगायत शीर्षकमा निकासा भएको १८ लाख तीन हजार सात सय ४१ रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । साविक जिल्ला शिक्षा कार्यालय बाँकेबाट निकासा भएको उक्त रकम सम्बन्धित शीर्षकमा खर्च नगरी हिनामिना गरेको आयोगले जनाएको छ । 

आर्थिक वर्ष २०७०/०७१ देखि २०७४/०७५ सम्म शिक्षकको तलबभत्ता, छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक, विद्यालय फर्निचर र भवन निर्माण शीर्षकमा निकासा भएको रकम प्रधानाध्यापक जोलाह र खाँले आफूखुशी खर्च गरेको आयोगको अनुसन्धानबाट खुल्न आएको हो । 

खाँले तत्कालीन प्रधानाध्यापकको हैसियतले आफ्नो जिम्मामा रहेका सक्कल कागजातहरू बरबुझारथ नगरी लुकाइ नष्ट गरेको आयोगको अनुसन्धानबाट पुष्टि भएको छ । आयोगले जोलाह र खाँविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको कसुरमा बिगोसहितको जरिवाना र कैद सजायको मागदाबी गरेको छ ।

टिप्पणीहरू