दिल्लीको यौन धन्दामा नेपाली युवती सप्लाई, ह्वाट्सएपको प्रयोग

दिल्लीको यौन धन्दामा नेपाली युवती सप्लाई, ह्वाट्सएपको प्रयोग

नेपाली युवतीहरुलाई भारतको राजधानी नयाँ दिल्ली पुर्याएर यौन व्यवसाय सञ्चालन गर्दै आएका नेपाली दम्पती पक्राउ परेका छन् । नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

स्याङ्जाको गल्याङ नगरपालिका–७ घर भएका ३५ वर्षीय टिकाराम भण्डारी र उनकी पत्नी ३१ वर्षीया अस्मिता भण्डारी नेपाली युवतीलाई नयाँ दिल्लीसम्म पुर्याउने र यौन धन्दामा संलग्न भएको पाइएको हो । उनीहरुले दिल्लीस्थित विभिन्न होटल, रेस्टुरेन्ट, फेन्सी पसलमा आकर्षक तलब र सेवासुविधासहितको काम लगाइदिने प्रलोभनमा युवतीलाई त्यहाँ पुर्याएर वेश्यावृत्तिमा लगाउने गरेको पाइएको प्रहरीको दाबी छ । 

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले उनीहरुले दिल्ली किशनगढमा वेश्यावृत्तिको निम्ति अपार्टमेन्ट समेत भाडामा लिएको पाइएको छ । अपार्टमेन्टमा सीसीटिभी क्यामेरा जडान गरेर पीडितहरुलाई नयाँ मोबाइल, भारतीय सिम समेत उपलब्ध गराई हवाट्सएप, फेसबुक आईडी बनाइदिने र पासवर्ड आफैंले राखेर अनलाइन निगरानी गर्ने गरेको खुलेको छ । 
त्यस्तै, हवाट्सएप ग्रुप बनाई सम्पर्कमा आएका ग्राहकले अनलाइन भुक्तानी गरिसकेपछि मात्र युवतीहरुलाई ग्राहकले भनेको स्थानमा पठाउने गरेको पाइएको हो । वेश्यावृत्तिबाट आर्जित रकमको २० प्रतिशत मात्र पीडितलाई दिएर बाँकी ८० प्रतिशत भण्डारीका दम्पतीले लिने गरेको पनि ब्यूरोले जनाएको छ । 

ब्यूरोले दिल्लीस्थित नेपाली दूतावास, भारतीय प्रहरी तथा किंन इण्डियासँगको समन्वय र सहयोगमा पाँच जना युवतीको उद्धार गरेको हो । यसअघि गत चैत्र ७ गते भण्डारीका श्रीमान श्रीमतीले नै भारत पुर्याएका नौ जना युवतीको ब्यूरोले उद्धार गरेको थियो । 

उनीहरुविरुद्ध छ वटा मुद्दा दर्ता गरिएकोमा ती मुद्दाका तीन जना प्रतिवादी पक्राउ परेपछि भण्डारी दाम्पती फरार भएका हुन् । गत बुधबार कञ्चनपुरको भारतीय सीमा इलाकाबाट पक्रेर ल्याइएका उनीहरुलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।
 

टिप्पणीहरू