पहिचानवादीद्धारा मेची राजमार्ग बन्दको घोषणा, मुक्कुम्लुङमा केवलकारको काम नरोके भीडन्त हुने चेतावनी

पहिचानवादीद्धारा मेची राजमार्ग बन्दको घोषणा, मुक्कुम्लुङमा केवलकारको काम नरोके भीडन्त हुने चेतावनी
सुन्नुहोस्

कोशी प्रदेश नामाङ्कनविरुद्ध लामो समयदेखि आन्दोलनरत पहिचानवादी समूहले मेची राजमार्ग बन्दको घोषणा गरेको छ । 'प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति'ले बुलेट किराती भनिने अन्जेश राईको रिहाईको माग गर्दै पुस १८ र १९ गते राजमार्ग बन्दको आह्वान गरेको हो । 

समितिले मंसिर ३० र पुस १ गते आह्वान गरेको आन्दोलनको क्रममा इलामको रोङ गाउँपालिका–४, किटनीस्थित पराल बोकेको गाडीमा आगजनी गरिएको थियो । आगजनी गरेको आरोपमा पक्राउ परेका राई इलामको पशुपतिनगर थानाको हिरासतमा छन् । 

तर. समितिले भने उक्त आगजनीको घटनामा राई र आन्दोलनमा संलग्न अन्य पहिचानवादीको कुनै संलग्नता नभएको दाबी गरेको छ । समितिले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘हामीले आन्दोलनलाई शान्तिपूर्ण तरिकाले अघि बढाइरहेको अवस्थामा मंसिर ३० र पुस १ को यातायात बन्दमा झापाको मान्छे इलाममा गएर गाडी आगजनी गर्ने कुरा सोच्नसम्म पनि सकिँदैन् । त्यसैले बुलेट किराती (अन्जेश राई) निर्दोष छन् र उहाँलाई तत्काल रिहाई गरियोस् भनेर हामीले पटकपटक प्रशासनसमक्ष डेलिगेशन गई भनेका थियौं ।’

त्यस्तै, समितिले मुक्कुम्लुङमा केबलकार बनाउन निजी कम्पनीलाई अनुमति दिने सरकारको निर्णयको विरोध जनाएको छ । याक्थुङ लिम्बुहरुको पवित्र धार्मिक एवं आध्यात्मिक आस्थाको स्थल मुक्कुम्लुङमा केबलकार बनाउने निर्णय तत्काल फिर्ता लिन समितिले माग गरेको छ । 

त्यहाँ केबलकार निर्माण गर्न खोजेमा भिडन्तको स्थिति हुने र हिंसा भड्किन सक्ने उसको चेतावनी छ ।

टिप्पणीहरू