चिसो मौसममा पनि तालिम तथा काँटछाँट र गोडमेलमा व्यस्त मुस्ताङका कृषक

चिसो मौसममा पनि तालिम तथा काँटछाँट र गोडमेलमा व्यस्त मुस्ताङका कृषक स्याउ तथा तरकारीको बगैचा व्यवस्थापनमा व्यस्त कृषकहरु ।
सुन्नुहोस्

रसिलो स्याउ भन्नासाथ मुस्ताङ जिल्लाको मार्फा नाम अग्रस्थानमा आउँछ । शीतोष्ण फलफूल तथा तरकारी अनि पर्यटनकोलागि पनि निकै धेरै संम्भावना रहेको हिमालपारीको जिल्ला मुस्ताङका किसानहरुले स्याउ खेती गरेका छन् । यही स्याउबाटै मुस्ताङले बर्सेनि ५० करोड भन्दा धेरै रुपियाँ जिल्ला भित्राउने गरेको छ।

स्याउ टिपेर बिक्री गरेपछि दाना टिपेको र पात झरेर उजाड बनेको स्याउको बोट तथा बगैंचा हिउँद यामको पुस र माघ महिनामा व्यवस्थापन तथा काँटछाँट गर्ने गरिन्छ । अहिले मुस्ताङका कृषकहरु यही स्याउ व्यवस्थापनमा लागेका छन् । अन्य खेतीको तुलनामा कम मेहनत गर्नु पर्नेे मानिने स्याउको बोटलाई हाँगाबिगा काटछाँट गर्नुका साथै सिंचाइका लागि पनि यो हिउँदको समय अति नै महत्वपूर्ण हुने बताउनुहुन्छ शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका निमित्त प्रमुख पद्मनाथ आत्रेय ।

स्याउको उत्पादन, संकलन तथा बजारिकरणपछि हिउँदयामको मौसममा स्याउ बगैचा व्यवस्थापन सुरु हुने उहाँले जानकारी दिनुभयो । भरपर्दाे र समुचित ढंगले बगैचा व्यवस्थापन गर्नसके किसानले उत्पादन राम्रो लिन सक्ने र त्यसबाट आम्दानी पनि राम्रै हुने मार्फाका अगुवा कृषक दिपक लालचनको भनाई छ । जिल्लाको पाँचवटै स्थानीय तहमा अहिले किसानहरु चिसो सहँदै स्याउ बगैचा व्यवस्थापन कार्यमा जुटेका छन् । उपल्लो मुस्ताङमा अत्यधिक चिसोका कारण धेरैजसो स्थानीय बेसी झरि सकेको कारण फागुन पहिलो हप्ता सम्म पनि काम गर्ने भए पनि तल्लो भेकमा भने पुस अन्तिम देखि फागुन पहिलो हप्ता भित्र व्यवस्थापनको काम सक्ने उहाँले बताउनुभयो ।

पुस महिना लागेसंगै मुस्ताङका किसानले चिसोको परवाह नगरी उजाडिएका स्याउ बगैचामा गोडमेल गर्ने, सिंचाई गर्ने, मलजल गर्ने, रोग किरा आदीको प्रकोप नियन्त्रणका लागि विषादी छर्ने र स्याउ बोटमा फैलिएका अनाधिकृत हाँगाबिगाहरुको काँटछाँट गर्ने तालिम लिने लगायतका कृषि कर्म गर्न भ्याईनभ्याई रहेको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका निमित्त प्रमुख आत्रेयको भनाई छ । 

बर्सेनि मुस्ताङका किसानलाई कृषि ज्ञान केन्द्र मुस्ताङ, शीतोष्ण बागवानी विकास केन्द्र मार्फा र संम्वन्धित स्थानीय तहहरुले प्राविधिकको व्यवस्था गरी स्याउ बगैचा व्यवस्थापन संम्वन्धित तालिम र फिल्डमै पुगेर किसानले स्याउ खेती गर्ने तरिका सिकाउने घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बेदहरी अधिकारीले जानकारी दिनुभयो । स्याउ बगैचा व्यवस्थापनका लागि विषादी छर्ने तरिका र स्याउ काँटछाँट गर्ने तरिका सिकाउने गर्नुका साथै स्याउ बोटमा पालुवा र कोपिला पलाउनु अगावै स्याउको हाँगाबिगा काँटछाँट गर्नुपर्ने भएकाले सोही अनुरुपको प्राविधिकि सहयोग प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।

कृषि ज्ञान केन्द्र मुस्ताङका निमित्त प्रमुख प्रकाश बस्ताकोटीले स्याउ कटिङ गर्दा हावा र घाम स्याउको सबै हाँगा र पातसम्म सर्कुलर हुन्छ, विभिन्न स्याउमा लाग्ने रोग संक्रमणलाई प्रतिरोध गर्छ त्यसैले यो कार्य गर्नु पर्ने बताउनुभयो । 

मुस्ताङमा पछिल्लो समय एक हजार चार सय ९५ हेक्टर क्षेत्रफलमा स्याउ खेती विस्तार भएको छ । पाँच सय ८५ हेक्टर क्षेत्रफलमा लगाईएको स्याउले उत्पादन दिने गरेको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ । मुस्ताङमा उन्तत जातका रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस र रिचारेड डेलिसियस स्याउ उत्पादन हुन्छ । यस्तै उच्च घनत्व प्रविधिमा आधारित (हाईब्रिड) जातका गाला, फुजी, किङरोट, जोनाप्रिन्स, गोल्डेन डेलिसियस र रेड डेलिसियस स्याउ उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र मुस्ताङको भनाई छ ।

आर्थिक वर्ष २०८०÷०८१ मा मुस्ताङमा पाँच सय ८५ हेक्टरमा लगाईएको स्याउबाट चार हजार नौ सय ७५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यसको अघिल्लो वर्ष पाँच सय ८० हेक्टरमा लगाईएको स्याउ बोटबाट छ हजार पाँच सय ९६ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । गतववर्षको तुलानामा यसवर्ष स्याउको फूल फुल्ने समय चैत्र ÷बैशाख महिनामा मौसम फेरबदलका कारण स्याउ बोटमा परागसेचन (पोलिनेसन) हुन नपाएपछि स्याउ कम फलेको शीतोष्ण वागवानि विकास केन्द्रका निमित्त प्रमुख आत्रेयको भनाइ छ ।

पछिल्लो समय जोमसोम भन्दा तलको क्षेत्रमै माइनस ४ दशमलब ५ डिग्री सेल्सीयस तापक्रम मापन भएको छ । शीतोष्ण हावापानीमा हुने फलफूलका विशेषगरी हाई चिलिङ्ग स्याउका लागि एक हजार घण्टा भन्दा धेरै सात डिग्री भन्दा कम तापक्रम भएको समय चाहिन्छ ।

चिसो हुँदा स्याउ लगाएत अन्य शीतोष्ण फलफूल तथा तरकारी बालिमा सकारात्मक प्रभाव पार्ने भएकाले हामी भने खुशी नै छौं तर जनजिवन भने चिसोले कष्टकर भएको छ शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका प्रमुख आत्रेयले भन्नुभयो । हिउँ परेमा बालीनालीलाई अझै राम्रो हुन्छ र हामी हिउँको पखाईमा छौं उहाँले थप्नुभयो । 
 

टिप्पणीहरू