बालकुमारी घटना छानबिन गर्न अस्ति समिति, भोलि आयोग

बालकुमारी घटना छानबिन गर्न अस्ति समिति, भोलि आयोग
सुन्नुहोस्

दुई युवाको ज्यान जाने गरी ललितपुरको बालकुमारीमा भएको घटनाको छानबिनका लागि सरकारले उच्चस्तरीय आयोग बनाउने भएको छ ।

आज बालुवाटारमा बसेको सत्ता गठबन्धनको वैठकले घटनाको निष्पक्ष अनुसन्धान गर्न आयोग गठन गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो । गठबन्धन दलको बैठकमा यो सहमति भएलगत्तै प्रधानमन्‍त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आवश्यक तयारी गर्न निर्देशन दिनुभएको छ ।

जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ को उपदफा (२) बमोजिम पूर्वन्यायाधीशको अध्यक्षतामा उच्‍चस्तरीय जाँचबुझ आयोग गठन गर्नेसम्बन्धी प्रस्ताव ल्याउन प्रधानमन्त्रीले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निर्देशन दिनुभएको बताइएको छ । 

भोलि बस्ने क्याविनेट बैठकले औपचारिक निर्णय गरेलगत्तै आयोगले कार्य प्रारम्भ गर्नेछ । यसअघि गृहले जाँचबुझ समिति गठन गरेको थियो । 

अस्ति शुक्रबार कोरिया पीडित भनिएका युवाहरुले ईपीएस कार्यालयअगाडि गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा डोटीका २२ वर्षीय वीरेन्द्र शाह र अछामका २३ वर्षे सुजन राउतको ज्यान गएको थियो । त्यस्तै, प्रदर्शनकारीहरुले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगो लगाएका थिए ।

घटनालगत्तै गृह मन्त्रालयले त्यहाँ भएको क्षेतिबारे सत्यतथ्य छानविन गरि प्रतिवेदन पेश गर्न डीआइजी लालमणि आचार्यको संयोजकत्वमा ललितपुरका सहायक सिडिओ अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान उपनिर्देशक वासु सिग्देल सदस्य रहेको समिति गठन गरेको थियो ।

एक साताभित्र घटनाको सत्यतथ्य जानकारीसहितको प्रतिवेदन बुझाउने कार्यदेश पाएको समितिले कार्य प्रारम्भ गरिसकेको छ ।

टिप्पणीहरू