नागरिक उड्डयन प्राधिकरणको नाफा साढे ३ अर्ब

नागरिक उड्डयन प्राधिकरणको नाफा साढे ३ अर्ब

नेपाल नागरिक उड्डयन प्राधिकरणले गत आर्थिक वर्षमा ३ अर्ब ४९ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ ।

प्राधिकरणको २५ औँ वार्षिकोत्सव कार्यक्रममा महानिर्देशक प्रदीप अधिकारीले त्यस्तो हिसाबसहितको प्रतिवेदन पेश गरेका हुन् । पर्यटनमन्त्री सुदन किराती प्रमुख अतिथि रहेको सो कार्यक्रममा पछिल्लो एक वर्षमा प्राधिकरणले सबै खर्च कटाएर ३ अर्ब ४९ करोड १५ लाख मुनाफा कमाएको हिसाब प्रस्तुत गरियो  ।  

महानिर्देशक अधिकारीले प्राधिकरणको आय एड्ओटिकलतर्फ ११ अर्ब ७२ करोड १७ लाख तथा नन्एड्ओटीकलतर्फ १ अर्ब ७८ करोड ८६ लाख गरी जम्मा १३ अर्ब ५१ करोड ३ लाख आम्दानी भएको बताए । उनले पुँजीगत खर्च तर्फ ७ अर्ब ४४ करोड ३८ लाख, कार्यसञ्चालन खर्चतर्फ ४ अर्ब २२ करोड ९९ लाख ,आयकर तथा अन्य खर्च ४ अर्ब १५ करोड ५ लाख गरी १५ अर्ब ८२ करोड ८३ लाख खर्च भएको उल्लेख गरे ।

प्राधिकरण स्थापनाको पछिल्लो २५ वर्षमा हवाई उडान १९२ प्रतिशतले वृद्धि भएको पनि प्रतिवेदनमा जनाइएको छ । त्यस्तै, हवाई उडानमा यात्राहरूको संख्या पनि ३६४ प्रतिशत र कार्गो पनि १०० प्रतिशतले वृद्धि भएको उल्लेख छ । 
  
सन् २०२३ को अन्त्यमा आइपुग्दा ३ अन्तर्राष्ट्रिय विमानस्थलसहित आन्तरिक विमानस्थलको संख्या ५५ पुगेको जनाइएको छ । कोरोनाका कारण आर्थिक रुपमा धराशायी भएको उड्डयन क्षेत्र २०२२ मा सुधारोन्मुख हुँदै चालु अवस्थामा पुरानै अवस्थामा फर्किएको महानिर्देशक अधिकारीको दावी छ ।
 

टिप्पणीहरू