सरकारी खर्चमा राउटे समुदायको स्वास्थ्य बीमा गराइने

सरकारी खर्चमा राउटे समुदायको स्वास्थ्य बीमा गराइने
सुन्नुहोस्

स्वास्थ्य बीमा बोर्डले राउटे समुदायलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन प्रक्रिया अघि बढाएको छ । सरकारले नै रकम व्यहोर्ने गरी बीमामा आबद्ध गराउन स्वीकृतिका लागि बोर्डले प्रक्रिया शुरु गरेको हो । 

बोर्डको अस्ति शुक्रबार बसेको बैठकले स्वास्थ्य बीमा ऐन, २०७४ मा तोकिएको लक्षित वर्गबाहेक थप पहिलो चरणमा लोपोन्मुख राउटे जातिलाई सरकारले योगदान रकम व्यहोर्ने गरी स्वास्थ्य बीमा कार्यक्रममा आबद्धता गर्न सरकारको स्वीकृतिका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको जनाइएको छ । 

बैठकले स्वास्थ्य बीमा ऐन, २०७४ को दफा १० मा भएको प्रेषण सेवासम्बन्धी व्यवस्थाबमोजिम प्रेषण सेवालाई व्यवस्थित र विवेशसम्मत बनाउनका लागि तयार गरिएको ‘स्वास्थ्य बीमा कार्यक्रममा पे्रषण सेवासम्बन्धी कार्यविधि, २०८०’ स्वीकृत गरी लागू गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, बोर्ड र स्वास्थ्य बीमा कार्यक्रमलाई मर्यादित र अनुशासित बनाउन आचार संहिता स्वीकृत गरी लागू गर्ने निर्णय समेत गरिएको बताइएको छ । 

जसअनुसार कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग नगर्ने, दाबी व्यवस्थापन शाखा र सूचना प्रविधि शाखाका कर्मचारीले कार्यालयभित्र रहँदा व्यक्तिगत मोबाइल प्रयोग नगर्न नपाउने र बोर्ड र बीमा कार्यक्रमको बारेमा सार्वजनिक धारण राख्नुभन्दा पहिला सो विषयसँग सम्बन्धित पदाधिकारीलाई जानकारी गराउनुपर्ने भनिएको छ।

टिप्पणीहरू