नुवाकोटका राजावादीहरुले काठमाडौंमा प्रदर्शन गर्ने

नुवाकोटका राजावादीहरुले काठमाडौंमा प्रदर्शन गर्ने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अभिव्यक्ति र बालकुमारी घटनाविरुद्ध नुवाकोटका राजावादीहरुले काठमाडौँमा विरोध प्रदर्शन गर्ने भएका छन् । 

नुवाकोट घर भई काठमाडौँमा बसोबास गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्धहरुले आज अपराह्न प्रदर्शन गर्न लागेका हुन् । बालाजु–माछापोखरी क्षेत्रमा अपराह्न साढे ४ बजेदेखि प्रदर्शन थालिने जनाइएको छ । राप्रपाले पार्टीका नेता–कार्यकर्तालाई प्रदर्शनमा सहभागी हुन आह्वान गरेको छ । 

केही दिनअघि काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले धर्मनिरपेक्षताको ब्याख्या गर्दै क्रिश्चियन धर्मको विरोध गर्नु दण्डनीय हुने बताएका थिए । उक्त अभिव्यक्तिविरुद्ध हिन्दुराष्ट्रको एजेण्डामा राजनीति गर्दै आएको राप्रपा र केही हिन्दुवादीहरुले निरन्तर प्रदर्शन गरिरहेका छन् । 

त्यस्तै, अस्ति शुक्रबार दक्षिण कोरिया जान ईपीएस परीक्षा दिन नपाएपछि भएको आन्दोलनका क्रममा दुई युवकको ज्यान गएको थियो । ललितपुरको बालकुमारी क्षेत्रमा आन्दोलित युवाहरुको समूह अराजक बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा सुजन राउत र वीरेन्द्र शाहको मृत्यु भएको हो । त्यसको विरोधमा आज विभिन्न जिल्लामा प्रदर्शन भइरहेको छ ।
 

टिप्पणीहरू