प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सवालमा यस्तो रह्यो सन् २०२३

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सवालमा यस्तो रह्यो सन् २०२३

नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सवालमा सन् २०२३ सन्तोषजनक नरहेको बताएको छ । महासचिव रोसन पुरीले आज विज्ञप्ति जारी गर्दै सन् २०२२ मा भन्दा यो वर्ष अर्थात् सन् २०२३ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटना बढेको जानकारी दिए । 

सन् २०२२ मा प्रेस स्वतन्त्रता हननका ५३ वटा घटना रेकर्ड भएकोमा सन् २०२३ मा महासंघको प्रेस स्वतन्त्रता अनुगमन ईकाईमा  ५८ वटा घटना रेकर्ड भएको उनले जनाएका छन् । त्यस्तै, सन् २०२३ मा १३ पत्रकार महिला र ७४ पुरुष पत्रकार प्रभावित भएको विज्ञप्तिमा उल्लेख छ । 

सन् २०२२ मा एक सय ३२ पुरुष र १८ महिला पत्रकार प्रभावित भएका थिए । महासंघका अनुसार यो वर्ष पाँच वटा सञ्चार संस्था प्रभावित भएका छन् । सन् २०२२ मा छ वटा सञ्चार संस्था प्रभावित भएको जनाइएको छ । 

यो वर्ष पत्रकारको पेशागत असुरक्षा मुख्य चूनौतीको विषय बनेको उल्लेख गर्दै महासंघले सञ्चार प्रतिष्ठानमा देखिएका श्रम समस्यालाई दबाबमूलक आन्दोलन, कानूनी लडाई तथा वार्ता, संवादसमेतको माध्यमबाट समाधानको पहल भइरहेको बताएको छ । 

महासंघले सन् २०२४ मा श्रम समस्याको दीर्घकालीन समाधानका लागि कानूनी व्यवस्थालाई थप बलियो बनाएर त्यसको कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । 

राजनीतिक दलका नेता र सरकारका जिम्मेवार पदमा बसेका व्यक्तिबाट पटकपटक प्रेसमाथि विभिन्न प्रकारका आरोप लगाउने तथा पुष्टि नहुने तर्कसहित समग्र मिडियाप्रति नै लाञ्छित गर्नेलगायतका कार्य यो वर्ष भएको महासंघले जनाएको छ । महासंघले राजनीतिक दल र सरकारका विभिन्न पदमा बसेका व्यक्तिलाई पदीय मर्यादा, विश्वव्यापी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अधिकारप्रति प्रतिबद्ध हुन आग्रह गरेको छ । 

सरकारले सन् २०२३ मा सञ्चारसम्बन्धी कानूनी निर्माणमा सुस्तता देखाएको उल्लेख गर्दै महासंघकै संलग्नतामा ड्राफ्रट भएका सञ्चारसम्बन्धी कानून यथाशीघ्र प्रक्रियामा लैजान ध्यानाकर्षण गराइएको छ । 

त्यस्तै, सञ्चारसम्बन्धी कानून ल्याउँदा संविधानले प्रत्याभूत गरेको विचार र अभिव्यक्ति स्वतन्त्रता, सञ्चारको हक तथा पूर्ण प्रेस स्वतन्त्रतालगायतका व्यवस्था ख्याल गर्न पनि संघ, प्रदेश र स्थानीय सरकारलाई महासंघले सचेत गराएको छ ।

 

टिप्पणीहरू