नयाँले गर्ने यस्तै हुन्छ काम,हुल बाँधेर मूर्दाघर जाम ?

नयाँले गर्ने यस्तै हुन्छ काम,हुल बाँधेर मूर्दाघर जाम  ?

दुई होनहार युवाको ज्यान जानेगरी अस्ति भएको बालकुमारी घटना निश्चय नै निन्दनीय हो । घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री, गृहमन्त्री र सिङ्गै सरकारले लिनुपर्छ नै । यस अर्थमा सरकारको आलोचना हुनुलाई अन्यथा मान्नु हुँदैन । 

तर,बिडम्बना ! आफ्नो राजनीतिक स्वार्थ सिद्ध गर्न केही व्यक्ति,समूह र राजनीतिक दलका नेताहरु यस घटनालाई अवसर ठानेर बिरोधका नाममा जश लिने होडबाजीमा देखिएका छन् । लाशमाथि राजनीति गर्ने नेपाली राजनीतिको गलत परम्परालाई पछ्याउँदै नयाँ भनिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सिके राउत नेतृत्वको जनमत पार्टी पनि बिरोधमा उत्रिएका हुन् ।   

सभापति रवि लामिछानेमाथि उठेको सहकारी ठगीको प्रश्नमा मौन रहँदै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसदहरु बालकुमारी घटनालाई लिएर भने अतिरन्जनापूर्ण प्रचार गरिरहेका छन् । घटना निन्दनीय भएकाले सरकारको जवाफ खोज्ने हदसम्म ठीकै हो । तर, तथ्यलाई बंग्याएर प्रतिष्पर्धी राजनीतिक दलविरुद्ध सडकमा प्लेकार्ड बोकी दौडिएका रास्वपाका नेताहरु सामाजिक सञ्जालमा लाशको फोटो राखेर संवेदनाहीन प्रचारवाजीमा उत्रिएका छन् । 

सहकारीको रकम अपचलन गरेको आफूमाथि लागिरहेको गम्भीर आरोपलाई '१२ भाइ' को षड्यन्त्र भनी पछिन्दै आएका सभापति रवि लामिछानेले बालकुमारी घटनामा मारिएका युवाहरुको शव अवलोकन गरेको फोटो सो पार्टीका कार्यकर्ताले प्रचारमा ल्याएका छन् । अस्पतालको मूर्दाघरमा पुगेर लामिछानेले  लाशको निरीक्षण गरिरहेको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल छ । 

यता,मधेसलाई अलगै राष्ट्र बनाउने अभियानअन्तर्गत हिंसात्मक आन्दोलन गरेर राजनीतिमा उदाएका जनमत पार्टीका अध्यक्ष सिके राउतले पनि त्यसैगरी अस्पताल पुगेर लाश अवलोकन गरेका छन् । 'डाक्टर सिके राउत सचिवालय' नामको फेसबुकबाट अस्पतालको मूर्दाघरमा पुगेर राउतले लाश हेर्दै गरेको  फोटो सार्वजनिक छ ।  

जहाँ लेखिएको छ, 'यो भ्रष्ट राज्यले रोजगारी त दिएन,उल्टा छातीमा गोली ठोक्यो ! मृतकहरू दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन रावत र अछाम चौरपाटी गाउँपालिका–१ का २३ वर्षीय वीरेन्द्र शाहप्रति हार्दिक श्रद्धाञ्जली🙏'

यस्ता घटनाको विरोधमा राज्य र सरकारलाई सृजनात्मक खबरदारी गर्नुपर्नेमा अस्पतालको मूर्दा घरमा गएर लाशसँग फोटो सेसन गरेको भन्दै लामिछाने र सिकेको यो कदमप्रति सञ्जालमा विरोध पनि भएको छ । 'यो दुनियाँमा यस्ता पाखन्डी पनि छन्, जो आफ्नो राजनीतिको लागि मूर्दाघर (मर्चरी) को चेम्बरमा गएर लाशसँग फोटो सेसन गरी बस्छन् ! हेर नयाँ भन्नेका मती ☹️☹️' एकजना सामाजिक सञ्जाल प्रयोगकर्ता अनिल गिरीले टिप्पणी लेखेका छन् ।

टिप्पणीहरू