तिब्बतबाट पनि आउन थाले पर्यटक

तिब्बतबाट पनि आउन थाले पर्यटक
सुन्नुहोस्

कोरोना महामारीको अन्त्यपछि तिब्बतबाट नेपाल आउने पर्यटकको संख्या बढेको छ । पछिल्लो एक वर्ष औपचारिक रुपमा ८४३ जना तिब्बती नेपाल भ्रमणमा आएका छन् ।

चीनको तिब्बत स्वायत्त क्षेत्रको पर्यटन विकास ब्युरोका अनुसार त्यहाँका चार वटा ट्राभल एजेन्सी मार्फत् ४१ जना गाइडसहित ती पर्यटक आएका हुन् । ब्युरोका डाइरेक्टर वाङ सिआओतोङले भने, ‘गत वर्ष संस्कृति तथा पर्यटन मन्त्रालयले चिनियाँ नागरिकलाई पर्यटनका लागि विदेश जान अनुमति दिएपछि तिब्बतीहरु पनि नेपाल आएका हुन् । तिब्बतबाट पहिलो पटक गत जुलाई २९ का दिन केरुङ हुँदै १५ दिनको लागि आएका थिए ।’

त्यसपछि तिब्बतीहरु समूहमा विदेश जाने क्रम बढ्दै गएको उनले बताए । सानान् इन्टरनेशनल ट्राभल सर्भिसका जनरल म्यानेजर युचनका अनुसार यो वर्ष तिब्बतीहरु भ्रमणका लागि नेपालमा मात्र आएका हुन् । राजधानी काठमाडौं र पोखरा तिब्बतीहरुको रोजाइका प्रमुख गन्तव्यस्थल हुने गरेको उनको भनाई छ ।

काठमाडौं–ल्हासा उडान लामो समयदेखि बन्द रहेकाले यसबीच पर्यटकहरु १५ दिनको भ्रमण तालिका बनाएर स्थलमार्ग हुँदै नेपाल आएका हुन् । गत सातादेखि हिमालय एअरलाइन्सले उडान थालेपछि नेपाल र दक्षिण एसियाका अन्य मुलुक घुम्न चाहने धेरै तिब्बती पर्यटकले यात्रा बुक गराउन थालेका हुन् । पछिल्लो समय २९९ जना वृद्ध तिब्बतीहरुसमेत आठ समूहमा विदेश भ्रमणमा निस्किएका थिए ।

डाइरेक्टर वाङ भन्छन्, ‘तिब्बतको पर्यटन प्रवर्धनका निम्ति आगामी दिनमा थप कदम चालिने छ । वाह्य पर्यटनको प्रवर्धन र प्रचारका लागि धेरै कार्य गरिने छ । तिब्बतको पर्यटन आदानप्रदानमा विशेषगरी मित्रराष्ट्रहरु रुस,बेलारुस,सिंगापुर, मलेसिया, थाइल्याण्डलगायत मुलुकसँग सहकार्य गर्न लागिएको छ ।’ यसले तिब्बतको विकास र तिब्बती जनताको समृद्धिमा थप सहयोग पुग्ने सरकारी अधिकारीहरुको विश्वास छ ।

टिप्पणीहरू