अपरेसनको डेट २ वर्षपछि, पालो छिटो आएको अस्पतालको दाबी

अपरेसनको डेट २ वर्षपछि, पालो छिटो आएको अस्पतालको दाबी
सुन्नुहोस्

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले पत्थरीको एक जना बिरामीलाई दुई वर्षपछिको अपरेसन डेट दिएको पाइएको छ । अस्पतालले अपरेसनका लागि २०८२ असार ११ गतेको समय तोकिदिएको छ ।

अछामको साँफेबगर नगरपालिका–३, की रुपसरी कुँवर समस्या देखिएपछि बैयलडाँडा अस्पताल पुगेकी थिइन् । एक्स–रे गर्दा उनको किड्नीमा पत्थरी देखिएको हो । त्यहाँ अपरेसन सम्भव नभएपछि अस्पतालले उनलाई सेती प्रादेशिक अस्पताल रेफर गरेको हो । 

अपरेसनका लागि अछामबाट धनगढी आएकी उनी अहिले मर्कामा परेकी छन् । दुई वर्ष पछिको पालो पाएकी उनलाई घर फर्किने कि निजी अस्पतालमा भर्ना हुने भन्ने चिन्ताले पिरोलेको छ । खेतीपातीबाट गुजारा गर्दै आएकी उनी आफू निकै समस्यामा परेको बताउँछिन् । 

अस्पतालका वरिष्ठ कन्सल्ट्यान्ट युरोलोजिष्ट (एनएमसिएन नम्बर १०४७१) डा.दुर्गा पण्डितले किड्नीमा पत्थरी भएको पुष्टि भएपछि अपरेसन डेट लिन पठाएका थिए । एनेस्थेसिया डाक्टरले उनको पूर्जामा ‘प्लिज काइण्डली गिभ द अपरेसन डेट’ लेखेका छन् । 

यता, अस्पतालमा कार्यरत कर्मचारी विजय बमले पूर्जामा अपरेसन मिति २०८२ असार ११ गते लेखिदिएका हुन् । असार १० गते भर्ना हुने र असार ११ गते अपरेसन हुने अस्पतालको पूर्जामा उल्लेख छ । दुई वर्षपछिको समय लेखिदिएपछि उनी एकछिन आश्चर्यचकित भएको बताइन् । 

‘दुई वर्षपछिको डेट लेखिदिएपछि म अक्क न बक्क भएँ । मैले त्यहाँ सोधेँ पनि । कर्मचारीहरुले तपाईंभन्दा अगाडि नै सयौंको पालो छ भनेर जवाफ दिए । त्यसपछि डाक्टरकहाँ गएर दुई वर्षसम्म बाँचिने हो कि मरिने हो भनेर फर्किएँ’, उनले भनिन् । 

स्वास्थ्य बीमा कार्यक्रममार्फत् उपचार गराउन पुगेकी उनले सरकारी अस्पतालले बिरामीको स्वास्थ्यमाथि खेलबाड गरिरहेको उल्लेख गरेकी छन् । यता, उनका भाइ लव रावलले निजी अस्पतालको व्यापार बढाउनका लागि अस्पतालले बिरामीलाई दुःख दिएको आरोप लगाए । 

‘सरकारी अस्पतालमा धेरै नै लापरवाही भयो । एक–दुई महिनापछिको डेट दिएको भए पनि चित्त बुझ्थ्यो । किड्नीको पत्थरी निकाल्न दुई वर्षपछिको समय दिइएको छ, यस्तो पनि हुन्छ ? निजी अस्पतालको व्यापार बढाउन अस्पतालले यस्तो काम गर्दै आएको हो’, उनले भने । 

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट (मेसु) शेरबहादुर कमार दुई वर्षपछि पनि पालो आउने–नआउने ठेगान नभएको बताउँछन् । धेरै बिरामी लाइनमा रहेकाले उनको अपरेसन डेट अझै सर्न सक्ने डाक्टरको भनाई छ । अस्पतालमा एक जना मात्र एनेस्थेसिया डाक्टर भएकाले समस्या आएको उनले बताए । 

उनी भन्छन्, ‘अस्पतालमा बिरामीको चाप धेरै छ । सुदूरपश्चिम प्रदेशभरका सरकारी अस्पतालमध्ये यहाँ मात्र अपरेसन हुन्छ । एक जना मात्र एनेस्थेसिया डाक्टर हुनुहुन्छ । अनि कसरी हुन्छ ? दुई वर्ष भनेको त निकै छिटो डेट दिइएको हो । हामीसँग स्रोतसाधन छैन, माग गरेको गर्यै छौं । तर, बेवास्ता गरिँदै आएको छ । दैनिक ११–१२ वटा प्रसुति गराउनुपर्ने हुन्छ । एक जना एनेस्थेसियोलोजिस्टले के–के भ्याउने ?’

टिप्पणीहरू