मकवानपुरका वनकरियालाई सिरक

मकवानपुरका वनकरियालाई सिरक

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ४ मुसेधापमा मात्रै अस्तित्वमा रहेका लोपोन्मुख बनकरियालाई बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सिरक उपलब्ध गराएको छ । 

मन्त्रालयले फाइबरको सिरक खरिद गरेर मन्त्री र सचिव आफैँ उपस्थित भएर वनकरिया समुदायका लागि वितरण गरेको हो । मन्त्री गंगानारायण श्रेष्ठ र सचिव ध्रुव गैँडासहितको टोली वनकरिया बस्ती पुगेर आज २२ घर परिवारका लागि सिरक वितरण गरेका हुन् । 

सिरक बितरण गर्दै मन्त्री श्रेष्ठले वनकरिया बस्तीमा बसोबास गर्नेहरुलाई लालपुर्जा वितरण गर्ने विषय र अन्य भौतिक पूर्वाधार विकासका सन्दर्भहरुमा प्रदेश सरकारले बिना हिच्किचाहट काम गर्ने उल्लेख गरे । अहिले विपद् व्यवस्थापन कोषबाट खरिद गरिएको सिरकलाई प्रदेशभित्रका अति सीमान्तकृत समुदायमा वितरण गर्ने कार्यलाई अघि बढाइएको हो ।

मनहरी गाउँपालिकामा मात्रै बसोबास रहेको वनकरिया जातिका मानिसको संख्या ९३ छ । उनीहरुलाई सरकारले सामाजिक सुरक्षा भत्तावापत प्रतिव्यक्ति प्रतिमहिना ४ हजार रुपियाँ प्रदान गर्दै आइरहेको छ । विभिन्न गैरसरकारी संस्थाहरुको तर्फबाट पनि यो बस्तीमा सहयोग भइरहेको बताइन्छ ।

टिप्पणीहरू