लुक्दै हिँडेका सांसद अब लोगो भिरेर हिँड्ने

लुक्दै हिँडेका सांसद अब लोगो भिरेर हिँड्ने
सुन्नुहोस्

नेकपा एमालेका महोत्तरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ । सभामुख देवराज घिमिरेले सांसद कोइरीको निलम्बन फुकुवा गर्नुभएको संसद सचिवालयका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिएका हुन् । 

कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत महोत्तरीबाट सफाई पाएपछि कोइरीले निलम्बन फुकुवाको माग गर्दै निवेदन दिएको बताइएको छ । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (५) बमोजिम उनको निलम्बन फुकुवा भएको महासचिव पाण्डेले बताए । 

सशस्त्र प्रहरी बल नेपालका असई थमन विकको हत्या आरोप लागेका कोइरीलाई गत मंसिर २८ गते जिल्ला अदालत महोत्तरीले सफाइ दिएको थियो । उनलाई आगलागी मुद्दामा समेत अदालतले सफाइ दिएको हो । 

२०७२ भदौ २५ गते मधेश आन्दोलनका क्रममा सशस्त्रका असई विकलाई आन्दोलनकारीहरुले खेतमा लखेटेर हत्या गरेका थिए । उक्त हत्या आरोपमा कोइरीसहित २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।

टिप्पणीहरू