ठेक्कामा अनियमितता, वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

ठेक्कामा अनियमितता, वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

धनुषाको हंसपुर नगरपालिका–१ का तत्कालिन वडाध्यक्ष कामेश्वर कापरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कापरसहित प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारी, ठेकेदार मदनकुमार झा र नवीनकुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

उनीहरुको मिलेमतोमा नगरपालिकाको वडा नम्बर १ भगवानपट्टीमा रहेको कित्ता नम्बर ३३० को सार्वजनिक पोखरीलाई ठेक्कामा लगाउँदा अनियमितता भएको अख्तियारको आरोप छ । 

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार सार्वजनिक पोखरी ठेक्कामा लगाएबापत दोस्रो वर्षको पाँच लाख ५५ हजार रुपैयाँ राजस्व खातामा दाखिला गर्नुपर्नेमा वडाध्यक्ष कापरले आफैंसँग राखेको पाइएको छ । 

त्यस्तै, ठेकेदारहरुले नियमित किस्ता नगरपालिकामा दाखिला नगर्दा पनि निरन्तर किस्ता दिएको भनी उनले हंसपुर नगरपालिका– १ को लेटर प्याड समेत दुरुपयोग गरेको अख्तियारले बताएको छ ।  

गलत लिखत तयार गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ बमोजिम पाँच लाख ५५ हजार बिगो कायम गरी कैद र जरिवाना हुन मागदाबीसहित आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
 

टिप्पणीहरू