भन्सार विभागअगाडि प्रभुका कार्यकर्ताले पलेटी कसे

भन्सार विभागअगाडि प्रभुका कार्यकर्ताले पलेटी कसे
सुन्नुहोस्

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) को भातृ संगठन आम सम्पर्क मञ्चले आज पनि भन्सार विभागअगाडि धर्ना दिएको छ । भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी प्रावधान हटाउन माग गर्दै आन्दोलित सो संगठनले विभाग घेराउ गरेको हो । 

आन्दोलन थालेको सातौं दिन भइसक्दा पनि सरकारले माग सम्बोधनमा चासो नदेखाएको संगठनको गुनासो छ । झण्डै चार महिना अघिबाट शुरु गरिएको पहिलो चरणको आन्दोलनबाट माग पूरा नभएपछि दोस्रो चरणको आन्दोलन थालेको मञ्चले न्यायोचित माग सम्बोधनमा सरकार पक्षले बेवास्ता गरिरहेको आरोप लगाएको छ ।

मञ्चले ‘भन्सार नियमावलीमा रहेको परिच्छेद–१० को पुरस्कारसम्बन्धी सम्पूर्ण प्रावधान हटाउने’,‘कर कानुन, राजश्व कानुन र भन्सार कानुनमा एकरुपता ल्याउन भन्सार नियमावलीबाट अनावश्यक प्रावधान हटाउने’,‘भन्सारबाट उठेको राजस्व रकमबाट २५ प्रतिशत रकम सम्बन्धित प्रदेशलाई र २० प्रतिशत रकम सम्बन्धित पालिकालाई दिने व्यवस्था गर्ने’,‘घरायसी प्रयोजनको लागि ल्याइने उपभोगको वस्तुमा कुनै भन्सार कर नलाग्ने व्यवस्था गर्ने’, लगायतका नारा लगाएको छ ।

टिप्पणीहरू