बुसानको परीक्षा उत्तीर्ण गरेर तीन नेपालीले पाए रेफ्री लाइसेन्स

बुसानको परीक्षा उत्तीर्ण गरेर तीन नेपालीले पाए रेफ्री लाइसेन्स
सुन्नुहोस्

इन्टरनेशनल ई–स्पोर्ट्स फेडरेशन (आईईएसएफ) ले तीन जना नेपाली प्रतिनिधिलाई रेफ्री लाइसेन्स प्रदान गरेको छ । ‘वर्ल्ड ई–स्पोर्ट्स समिट, २०२३’ को अवसरमा दक्षिण कोरियाको बुसानस्थित वर्ल्ड ई–स्पोर्ट्स रेफ्री एकेडेमीमा भएको परीक्षा उत्तीर्ण गर्दै उनीहरुले लाइसेन्स प्राप्त गरेका हुन् । 

फेडेरेशनद्वारा भौतिक उपस्थितिमा पहिलोपटक आयोजित कार्यक्रममा सात मुलुकका २४ जना सहभागी थिए । दुई दिने कक्षापछि भएको परीक्षामा नुवाकोटका क्षितिज श्रेष्ठ, अरुण मिश्र र सौजन्य श्रेष्ठले सफलता हात पारेका हुन् । फेडरेशनको रेफ्री कोर्स उत्तीर्ण गर्ने उनीहरु पहिलो नेपाली हुन् । 

अब उनीहरुले ई–स्पोर्ट्स प्रतियोगिता सञ्चालन गर्न पाउनेछन् । नेपाल ई–स्पोर्ट्स एशोसिएशनको सिफारिसमा वर्ल्ड ई–स्पोर्ट्स रेफ्री एकेडेमी, २०२३ मा सहभागी भएका उनीहरुलाई अमेरिकाका जेम्स उड, पिटर स्टेन्सनी, कोरियाका ली सुङ वन, अर्जेन्टिनाका निकोलस क्रेस्पोले प्रशिक्षण दिएका थिए । 

मोटर स्पोर्ट्सका मार्शलसमेत रहेका क्षितिज बुद्धिचाल (चेस) का निर्णायक हुन् । अरुण र सौजन्य चीनको हाङजाउमा भएको एशियाली खेलकुदमा ई–स्पोर्ट्स खेलअन्तर्गत ड्रिम थ्री किङ्डम खेल्ने नेपाली खेलाडी हुन् ।

टिप्पणीहरू