सुन तस्करीमा विमानस्थलको व्यवस्थापकीय कमजोरी छताछुल्ल

सुन तस्करीमा विमानस्थलको व्यवस्थापकीय कमजोरी छताछुल्ल
सुन्नुहोस्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने गरेको सुन तस्करीमा नागरिक उड्डयन कार्यालयको व्यवस्थापकीय कमजोरी छताछुल्ल भएको छ । दुबईबाट तस्करी भएर आएको १४ किलो सुनबारे अध्ययन गर्न गठित जाँचबुझ समितिको प्रतिवेदनमा नागरिक उड्ड्यन कार्यालयले अनुसन्धानमा सहयोग नगरेको समेत औल्याईएको छ । 

नागरिक उड्डयन कार्यालयले कर्मचारीको ड्युटी लिष्ट र फोन नम्बरसहितको आवश्यक विवरण उपलब्ध नगराएको, २१ दिनको मात्र सिसिटिभी फुटेज प्राप्त भएको र विमानस्थलदेखि भन्सार कार्यालयसम्म सुन नआएर अर्को बाटोबाट ब्यवस्थापन हुने गरेको कुरा अनुसन्धानबाट फेला परेको समितिले जनाएको छ । कानुनअनुसार कम्तिमा ९० दिन सिसिटिभि फुटेज स्टोरेज हुनुपर्ने हो । 

मंसिर २१ गते विमानस्थलबाट १४ केजी सुनसहित गोरखाका चन्द्र घले पक्राउ परेका थिए । उनले सुनको पाता शरीरमा टाँसेर २ केजीका ७ वटा विस्कुट आकारको सुन लुकाएर ल्याएका थिए । त्यसबारे अध्ययन गर्न मणिराम पौडेलको संयोजकत्वमा समिति गठन भएको थियो । 

समितिले यस प्रकरणमा प्रतिवादी बनाइएकासहित अन्य विभिन्न व्यक्तिसंग बयान लिई रायसहितको प्रतिवेद बुझाएको हो । प्रतिवेदन हस्तान्तर गर्न आयोजित पत्रकार सम्मेलनमा अनुसन्धानका बिबिध पक्ष र समितिले दिएका सुझावबारे जानकारी गराइएको थियो । 

त्यसक्रममा यस प्रकरणमा  संगठित अपराध भएको देखिए पनि अहिलेलाई चोरी पैठारीको कसुरमा अनुसन्धान गरी मुद्धा दायर गरेको जानकारी दिइयो । त्यस्तै, १७ वटा राहदानी वरामद गरिएको पनि बताइएको छ । अनुसन्धानका क्रममा समितिले यो समूहले हालसम्म १३८ किलो सुन तस्करी गरेको पत्ता लगाएको छ । अब केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)लाई अन्य पाटोको अनुसन्धानका लागि हस्तान्तरण गर्ने जनाएको छ ।

टिप्पणीहरू