जहाज खरिदमा विगतको गल्ती दोहोरिए प्रधानमन्त्रीले नसहने

जहाज खरिदमा विगतको गल्ती दोहोरिए प्रधानमन्त्रीले नसहने
सुन्नुहोस्

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जहाज खरिद प्रक्रियामा कुनै त्रुटि र विवाद हुने काम नगर्न र पारदर्शी ढंगले अगाडि बढ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

आज दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र खानेपानी मन्त्रालयको संयुक्त ब्रिफिङ र छलफलमा उहाँले सो कुरा गर्नुभएको हो । उहाँले भन्नुभयो, 'नेपालमा जहाज खरिद प्रकरणमा जहिले पनि प्रश्न उठ्ने गरेको छ । यसपटक यस्तो गल्ती नहोस् । जहाज खरिद प्रक्रिया शतप्रतिशत सही र पारदर्शी हुनुपर्छ । यसपटकको खरिद प्रक्रियामा विगतका जस्ता कुनै प्रश्न नउठून्, कुनै त्रुटि नहोउन् ।' 

प्रधानमन्त्री प्रचण्डले कतिपय नीतिहरू पर्यटकमैत्री नहुँदा पर्यटन क्षेत्रले प्रगति गर्न नसकेको उल्लेख गर्दै त्यसलाई सच्याउनुपर्नेमा पनि जोड दिनुभएको छ । 'हाम्रा कतिपय नीतिहरु पर्यटनमैत्री छैनन्, तिनीहरू बदलेर भए पनि पर्यटकका लागि सहज वातावरण बनाउनेतिर सोचौं', उहाँले भन्नुभयो, 'त्यसैले तपाईहरूले प्रस्ताव ल्याउनुस्, त्यस्ता निषेधित क्षेत्र खुला गरेर पर्यटक आकर्षित गरौं । पर्यटकीय क्षेत्रहरूमा रात्रिकालीन सेवा पनि सहज गरिदिनुपर्छ । यसमा पनि सरकार लचिलो हुनुपर्छ ।'

छलफलमा खानेपानी मन्त्री महेन्द्र राय यादव, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, राज्यमन्त्री सुशीला श्रीपाली, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य, संस्कृति सचिव दीपक काफ्ले, अर्थसचिव कृष्णहरि पुष्कर लगायतले आफ्नो मन्त्रालय र जिम्मेवारीसँग सम्बन्धित विषयमा धारणा राख्नुभएको थियो ।

टिप्पणीहरू