उत्कृष्ट मौलिक कृतिलाई चित्रवन पुरस्कार

उत्कृष्ट मौलिक कृतिलाई चित्रवन पुरस्कार

भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले विभिन्न विधामा पुरस्कार घोषणा गरेको छ । प्रतिष्ठानले भाषा, कला संस्कृति, साहित्यिक विषयमा प्रकाशित कृतिलाई ५० हजार ७८ रुपैयाँ पुरस्कार दिन लागेको हो । 

भाषा साहित्य, कला संस्कृति, ऐतिहासिक, पुरातात्विक क्षेत्रमा खोज, अनुसन्धान, अन्वेषण गरी प्रकाशित भएका मौलिक कृतिलाई पुरस्कृत गरिने प्रतिष्ठानले जनाएको छ । एक जना स्रष्टालाई चित्रवन प्रज्ञा पुरस्कार दिइने प्रतिष्ठानको भनाई छ । 

काव्य, आख्यान, नाटक र निबन्ध विधामा उत्कृष्ट ठहरिएका मौलिक साहित्यिक कृतिलाई अलगअलग विधागत रुपमा एक–एक जना गरी चार जना स्रष्टालाई पुरस्कृत गरिनेछ । एक जना स्रष्टाले भरतपुर महानगर प्रज्ञा पुरस्कार पाउनेछन् । 

प्रतिष्ठानले यसवर्षदेखि बागीश्वरी प्रज्ञा पुरस्कार पनि स्थापना गरेको छ । नारी स्रष्टाहरुले प्रकाशन गरेका जुनसुकै विधाका कृतिमध्ये उत्कृष्ट ठहरिएकोले सो पुरस्कार पाउनेछ । प्रतिष्ठानद्धारा दोस्रोपटक प्रदान गर्न लागिएको पुरस्कारमध्ये चित्रवन प्रज्ञा पुरस्कारका लागि मुलुकभरबाट कृति दर्ता गराउन सकिन्छ ।

यता, भरतपुर महानगर प्रज्ञा पुरस्कार र बागीश्वरी प्रज्ञा पुरस्कारको हकमा भरतपुर महानगरबासीद्धारा प्रकाशित कृति मात्र दर्ता गर्न मिल्ने प्रतिष्ठानले स्पष्ट पारेको छ । प्रतिष्ठानले पुस १५ गतेभित्र कृति दर्ता गराइसक्न सूचित गराएको छ ।

टिप्पणीहरू