बाढीको जोखिमसम्बन्धी वैज्ञानिक भित्तेचित्र

बाढीको जोखिमसम्बन्धी वैज्ञानिक भित्तेचित्र
सुन्नुहोस्

विज्ञान र कलाको प्रयोगबाट कैलालीको टीकापुर नगरपालिकाले बाढीको जोखिमबारे स्थानीयलाई सूचित गराउने भएको छ । बाढी प्रकोपको दृष्टिले उच्च जोखिममा रहेको नगरपालिकाले स्थानीयमा सचेतना बढाउन ‘वैज्ञानिक बाढी जोखिम भित्तेचित्र’ बनाएको छ । 

युथ इनोभेसन ल्याबसँगको सहकार्यमा नगरपालिकाले भित्तेचित्र निर्माण गरेको हो । कर्णाली नदी र मनोहरा खोलाबीचमा रहेको नगरपालिका हरेक वर्षायाममा बाढीको उच्च जोखिममा रहन्छ । बाढीका कारणले हरेक वर्ष ठूलो धनजनको क्षति हुँदै आएको छ । 

बाढीबारे बेलैमा सूचना नपाएकाले बढी क्षति हुने गरेको गुनासो स्थानीयले गर्दै आएका छन् । स्थानीयको गुनासोलाई मध्यनजर गर्दै भित्तेचित्र बनाएको नगरपालिकाले जनाएको छ । उक्त भित्तेचित्रले बाढीको जोखिमबारे सरल तरिकाले जानकारी दिने र थप सतर्कता अपनाउन अभिप्रेरित गर्ने नगरपालिकाको भनाई छ । 

भित्तेचित्रमा समावेश गरिएको नक्सामा पानीको बहाव हेर्न सकिन्छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सञ्चालन गरेको विपद् पोर्टलमा रहेको बिजरिस्क मोड्युल भित्तेचित्रमा जडान गरिएको छ । यसअघि बर्दियाको राजापुरमा पहिलोपटक भित्तेचित्र बनाइएको थियो ।

टिप्पणीहरू