धनुषामा गोली चल्यो, दुई जना घाइते

सुन्नुहोस्

धनुषामा स्थानीय र प्रहरीबीच भएको विवाद बढ्दै गएपछि प्रहरीले गोली प्रहार गरेको छ । हंसपुर नगरपालिका वडा नम्बर ५ सुगा निकासमा रहेको इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीको  गोली लागि दुई जना घाइते भएको बताइएको छ ।

स्थानीयको कुटाईबाट घाइते भएका एक जनालाई प्रहरीले कार्यालयमा लगेर निर्घात कुटेपछि निधन भएको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका छन् । सोही घटनालाई लिएर स्थानीय प्रहरी चौकी घेराउ गर्न पुगेका हुन् । सो क्रममा स्थानीय र प्रहरीबीच झडप भएको हो। 

झडपको क्रममा भीड हटाउन प्रहरीले गरेको हवाई फायरका क्रममा दुई जनालाई गोली लागेको छ ।  गोली लागेर सुगा निकासका ३६ वर्षीय शंकर मण्डल र १८ वर्षीय मतलुब अन्सारी घाइते भएका छन् । घाइते अन्सारीको बायाँ पाखुरामा र मण्ड़लको दाहिने हातमा गोली लागेको छ । झडपमा तीनजना घाइते भएको स्थानीयले बताएका छन् ।

यता जिल्ला प्रहरी कार्यालय धनुषाकाअनुसार आक्रोशित स्थानीयको भीडले इलाका प्रहरी कार्यालयमा आगजनी गर्न थालेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको जनाएको छ । आक्रोशित स्थानीयको भीडले प्रहरीमाथि आक्रमण गर्न खोजेको र सशस्त्र प्रहरीको एउटा मोटरसाइकल पूर्णरुपमा जलाइदिएको प्रहरी दाबी छ । 

नेपाल प्रहरीको एउटा मोटरसाइकलमा समेत आगजनी गरी क्षतिग्रस्त बनाइदिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । स्थानीय दीपा मण्डललाई स्थानीयबीचको विवादको क्रममा पकाउ गरी इलाका प्रहरी कार्यालयमा लगेर प्रहरी स.ई. तुलानन्द ठाकुरको पिटाईबाट मण्डलको संवेदनशील अंगमा चोट लागेको थियो । उपचारको क्रममा उनको मृत्यु भएको स्थानीयले जनाएको छ । 

घाइतेमध्ये अन्सारीको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ भने घाइते मण्डललाई थप उपचारकालागि काठमाडौं रिफर गरिएको छ । प्रहरीको गोली लागि घाइते भएका दुवैजनाको उपचार खर्च राज्यले व्यहोर्नुपर्ने स्थानीयले माग गरेका छन्।
 

टिप्पणीहरू