'भरतपुर भ्रमण वर्ष' अन्तिम समयमा स्थगित

'भरतपुर भ्रमण वर्ष' अन्तिम समयमा स्थगित

सन् २०२४ लाई भ्रमण वर्षका रुपमा मनाउन तामझामका साथ तयारी शुरु गरेको भरतपुर महानगरपालिका अन्तिम समयमा पछि हटेको छ । 

आउँदो जनवरी १ देखि शुरु गर्ने भनिएको 'भरतपुर भ्रमण वर्ष' तयारी नपुगेको जनाउंदै महानगरले अन्तिम समयमा स्थगित गरेको हो । पूर्वाधार निर्माणका धेरै कार्य बाँकी रहेकाले भ्रमण वर्ष मनाउने निर्णय स्थगन गर्नुपरेको उपमेयर चित्रसेन अधिकारीले बताए । 

उनका अनुसार धेरै स्थानमा सडक निर्माण कार्य अधुरो छ । त्यस्तै, नारायणघाट–मुग्लिङ सडकखण्डमा पुल निर्माणका लागि दैनिक चार घण्टा बाटो बन्द हुने भएपछि समस्या भएको उनको भनाई छ । 

‘सडक मर्मत अझै सकिएको छैन् । नारायणघाट–मुग्लिङ सडकखण्ड भोलिदेखि दैनिक चार घण्टा बन्द हुने सूचना निकालिएको छ । यता, आर्थिक मन्दीका कारण बाह्य पर्यटक आइरहेका छैनन् । त्यसैले तत्कालका लागि भ्रमण वर्ष पोस्टपोण्ड गरेका हौं’, उनले भने । 

आगामी पुस २२ गते बस्ने हिँउदे नगरसभाले भ्रमण वर्षबारे नयाँ निर्णय लिने उनले जानकारी दिए । महानगरले भ्रमण वर्षका लागि लामो समयदेखि तयारी गरिरहेको छ । भरतपुरलाई सफा तथा हरित बनाउन सबै वडाहरुमा सरसफाइ, सडक छेउछाउ वृक्षारोपण, सडक मर्मतलगायतका काम थालिएको छ ।

टिप्पणीहरू