पोखराका एक जनप्रतिनिधि कारागार चलान

पोखराका एक जनप्रतिनिधि कारागार चलान
सुन्नुहोस्

फेवाताल घुम्न जाने पर्यटकहरुको फोटो खिचेबापत अवैध असुली गरेको आरोपमा समातिएका पोखराका एक जनप्रतिनिधि कारागार चलान भएका छन् । उनीसहित चार जनालाई जिल्ला अदालत कास्कीले ठगी मुद्दामा जेल पठाएको हो । 

पोखरा महानगरपालिका–६ का वडासदस्य ४२ वर्षीय दिपेन्द्र पहारी सोही वडाका ४१ वर्षीय विकास पहारी, २२ वर्षीय प्रवीन विश्वकर्मा र २४ वर्षीय अभिषेक परियार भन्ने अभिषेक बराल कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । हिजो जिल्ला अदालतले उनीहरुको कसूर ठहर गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश सुनाएको थियो । 

उनीहरुले लेकसाइडस्थित फुटट्रयाकमा फोटो खिचेबापत प्रतिव्यक्ति १३ हजार पाँच सय रुपैयाँका दरले लिएर ठगेको भन्दै प्रहरीमा उजुरी परेको थियो । जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय, बैदामबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई मंसिर २२ गते पक्राउ गरी मुद्दा चलाएको थियो ।

आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा अनुसन्धान गरी अदालतमा पेश गरिएका उनीहरुलाई थुनामा पठाउने आदेश भएको हो ।

दिपेन्द्र गत स्थानीय तह निर्वाचनमा एमालेबाट वडासदस्य निर्वाचित भएका हुन् ।

टिप्पणीहरू