चाडपर्वका नाममा विद्यार्थीलाई लुगा किन्न लगाउने विद्यालयलाई महानगरले नछोड्ने

चाडपर्वका नाममा विद्यार्थीलाई लुगा किन्न लगाउने विद्यालयलाई महानगरले नछोड्ने

चाडपर्वको नाममा विद्यार्थीहरुलाई नियमित पोशाकभन्दा फरक पोशाक किन्न लगाउने विद्यालयलाई काठमाडौं महानगरपालिकाले कारबाही गर्ने भएको छ ।

केही विद्यालयले चाडपर्वको नाममा विद्यालय पोशाकभन्दा फरक पोशाक किन्न बाध्य पारेको गुनासो आएपछि महानगरले कारबाहीको चेतावनी दिएको हो । महानगरले आफ्नो कार्य क्षेत्रभित्रको सबै विद्यालयलाई परिपत्र गर्दै अन्य पोशाक किन्न बाध्य नबनाउन आग्रह गरेको छ । 

‘महानगरपालिकाभित्र सञ्चालित केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोशाकभन्दा फरक पोशाक किन्न बाध्य पारेको भन्ने गुनासो प्राप्त भएकाले तोकिएको विद्यालय पोशाकबाहेक अन्य पोशाक किन्न विद्यार्थीलाई बाध्य नगर्न सबै विद्यालयलाई अनुरोध गरिन्छ’, पत्रमा उल्लेख छ । 

त्यस्तै, कुनै विद्यालयले अटेर गरेमा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ (संशोधनसहित) र अन्य प्रचलित कानुनबमोजिम दण्ड सजाय गर्ने भन्दै सचेत गराइएको छ ।

टिप्पणीहरू