'संसद विघटन अस्थिरताको कारक,संकट रोक्न हस्तक्षेपको खोज'

'संसद विघटन अस्थिरताको कारक,संकट रोक्न हस्तक्षेपको खोज'
सुन्नुहोस्

सत्तारुढ नेकपा एकीकृत समाजवादीले मुलुकमा राजनीतिक संकट गहिरिंदै गएको निष्कर्ष निकालेको छ । २०७७ पुस ५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेयता मुलुक अस्थिरतामा फसेको र अहिले कतिपय शक्तिले लोकतान्त्रिक मूल्य- मान्यतामाथि नै प्रश्न उठाउन थालेकाले राजनीतिक संकट निम्तिएको सो पार्टीले निचोड निकालेको हो । 

सचिवालय बैठकले गरेको निर्णयबारे पार्टी पंक्तिलाई जानकारी दिन अध्यक्ष माधवकुमार नेपालले आज जारी गरेको संशोधित अन्तर पार्टी निर्देशन (अपानि)मा त्यसैको परिणाम अहिले राजनीतिले एकपछि अर्को चुनौतिको सामना गर्नुपरेको जनाइएको छ । 

यही मौकामा दक्षिणपन्थी शक्तिहरुले संविधान, राष्ट्रिय एकता,सामाजिक सद्भाव र लोकतान्त्रिक मूल्य मान्यतामाथि औँला उठाउन थालेको ठहर गरिएको छ । 

'नेपालको लोकतान्त्रिक राजनीति र कम्युनिष्ट आन्दोलनका उपलब्धिलाई असाधारण धक्का लाग्ने गरी २०७७ पुसमा संसद विघटन गरियो,यो सामान्य घटना थिएन । यसले हाम्रो लोकतान्त्रिक स्थिरताको सम्भावनामाथि नै आक्रमण गरेको थियो', अपानिमा भनिएको छ, 'समयमै हाम्रो हस्तक्षेप, जनताको साथ-सहयोग र अदालतको निर्णयद्वारा संसद पुनर्स्थापना भयो । तर,लोकतान्त्रिक स्थिरताका साथ मुलुक संमृद्धि र समाजवादतर्फ अघि बढ्ने विश्वासिलो आधार अहिलेसम्म पनि पुनर्स्थापित हुन सकेको छैन ।' 

अहिले राजनीतिलाई बिचारहीन-सिद्धान्तहीन सस्तो नाराको खेल बनाउने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै अपानिमा यो संकटले प्रभावकारी क्रान्तिकारी हस्तक्षेपको माग गरेको उल्लेख गरिएको छ । स्पष्ट समाजवादी कार्यदिशा भएको बलियो लोकतान्त्रिक पार्टीले मात्र सबै समस्याको समाधान दिनसक्ने जनाइएको छ । 

मुलुकमा भूराजनीतिक दबाब बढ्दै गएको र राष्ट्रिय हितकाविरुद्ध अनेक षड्यन्त्रको आशंका बढेको ठहर गर्नुभएका अध्यक्ष नेपालले त्यसलाई चिर्न प्रमुख राजनीतिक दलहरु सक्षम नरहेको दावी पनि गर्नुभएको छ । संसदको सबैभन्दा ठूलो राजनीतिक दल नेपाली कांग्रेस उदारवादी शक्ति भएकाले उसले आजको सङ्कटलाई सामना गर्ने वैचारिक सामर्थ्य नराख्ने अध्यक्ष नेपालको निष्कर्ष छ । अहिले उठिरहेका कैयौँ प्रश्नमा कांग्रेस स्पष्ट नदेखिएको पनि उहाँको भनाई छ । 

त्यस्तै,दोस्रो ठूलो दल एमाले वामपन्थी जनमत भएको पार्टी भए पनि संसद विघटनपछि नेतृत्वमा झन् बढी वैचारिक,सैद्धान्तिक र सांगठनिक समस्याहरु जेलिँदै गएको र समग्रमा दक्षिणपन्थी व्यक्तिपूजाको शिकार बनेकाले उसले पनि समाधान दिन नसक्ने जनाइएको छ । कतिपय सैद्धान्तिक कारणले नेकपा माओवादी केन्द्रले समेत अहिलेको चुनौती एक्लै पार लगाउन नसक्ने उल्लेख छ । 

वैचारिक तथा सैद्धान्तिक कार्यदिशाका हिसाबले आजका सङ्कटको वस्तुगत विश्लेषण र समाधानको स्पष्ट बाटो लिएको राजनीतिक शक्ति भएकाले आफ्नो पार्टीमात्र समस्या हल गर्न सक्षम रहेको अध्यक्ष नेपालको दावी छ ।

टिप्पणीहरू