गृहमन्त्रीका लागि राज्यका अंगहरुलाई 'वासिङ मेसिन' बनाइएको आरोप

गृहमन्त्रीका लागि राज्यका अंगहरुलाई 'वासिङ मेसिन' बनाइएको आरोप

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई जोगाउन सरकार 'वाशिङ मेसिन' बनेको आरोप लगाएका छन् । 

आज प्रतिनिधि सभामा बैठकमा बोल्दै उनले गृहमन्त्रीलाई चोख्याउन सरकारले राज्यका संयन्त्रहरु दुरुपयोग गरेको दाबी गरे । 

'राज्यका तमाम अगंहरुलाई वाशिङ मेसिन जसरी प्रयोग भयो । अब तपाईहरुले धोएर धुइन्न, पखालेर, पखालिदैन', थापाले आक्रोशित हुँदै भने, 'दुधको दुध, पानीको पानी संसदीय छानविन समितिले छुट्टयाउँछ, याे गठन हाेस् ।'

गृहमन्त्रीलाई 'क्लिन चिट' दिएर महान्यायाधिवक्ताले आफ्नो मर्यादा विपरित काम गरेको उनको आरोप छ । 'महान्यायाधिवक्ता कुनै प्रभावमा पर्नु हुँदैन, कुनै झुकाव राख्नुहुँदैन । तर यहाँ त झुक्दा झुक्दा लम्पासार नै परिसक्नुभयो', थापाले सोधे, 'किन डराएको ? किन आत्तिएको  ?'

गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरण संग्लन रहेका प्रमाणहरु आफूसँग प्रशस्त भएको उनको दावी छ ।

'गृहमन्त्रीले जुन सहकारीबाट पैसा लिएको छैन भन्नु भएको छ, त्यही सहकारीमा उहाँले पैसा लिनको लागि दिएको निवेदन यहाँ छ, म पेश गरु ?', उनले हातमा फाइल देखाउदै भने, 'एक अर्ब रुपैया अपचलन गरेको प्रमाणहरु छन्, पेश गरु म ?'

टिप्पणीहरू